मिस नेसन नेपाल २०२२ को फिनाले हुँदै, विजेतालाई एक लाख नगद

काठमाडौं । आई डु इभेन्टसको आयोजनामा भइरहेको मिस नेसन नेपाल २०२२ प्रतियोगिताको फिनाले यही शुक्रबार हुन लागेको छ । प्रतियोगितामा सहभागीलाई शृंगार, नृत्य, व्यक्तित्वविकास, भाषणकला, आत्मरक्षा, जुम्बा, योग, फिट्नेस र अभिनयका कक्षाहरु प्रदान गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगिताको विभिन्न चरण पार गर्दै र तालिम प्राप्त गरी मिस नेसन नेपाल २०२२ को फिनालेमा पुगेका प्रतिस्पर्धीले यही भदौ १० गते थापाथलीस्थित ब्लुबर्ड मलमा आफ्नो अन्तिम प्रस्तुति दिने आयोजक ललिता सापकोटाले बताइन् ।
विजेताले मिस नेसन नेपाल २०२२ को ताज साथै नगद १ लाख रुपैयाँ, विभिन्न फेसन शो र रनवेमा सहभागिता, म्युजिक भिडियो, पत्रपत्रिका/म्यागजिनमा फिचर, विज्ञापन आदिमा अवसर प्राप्त गर्नेछन् । आयोजकका अनुसार प्रतियोगितामा विभिन्न फेसन डिजाइनरले तयार पारेको पहिरनहरुमा सहभागी स्टेजमा उत्रिनेछन् ।
मिस नेसन नेपाल २०२२ का निर्णायक मण्डलका रुपमा ध्रुव बुढाथोकी (म्यानहन्ट इन्टरनेसनल २०१७), सन्ध्या शर्मा (मिस नेपाल इन्टरनेसनल २०२२) र सुमित राणा (काष्ठमाण्डप टेलिभिजन सञ्चालक) रहने आयोजकले जनाएको छ । प्रतिस्पर्धीलाई कोरियोग्राफर सुजित बस्यालले तालिम दिएको आयोजकले जनाएको छ ।
प्रतिक्रिया