गृहमन्त्री खाणले भने- नयाँ प्रविधि र विज्ञानले गर्दा अपराध नियन्त्रणमा सहज भयो

नेपालखोज २०७९ भदौ ८ गते १४:१६

काठमाडौं। गृहमन्त्री बालकृष्ण खाणले अपराधको स्वरुप र प्रवृद्धिमा आएको परिवर्तनले थपिएको जटिलताप्रति सरकारको ध्यान गएको बताएका छन् । प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभाग र काठमाडौं उपत्यका प्रहरी कार्यालयको संयुक्त आयोजित ‘उपत्यका अपराध अनुसन्धान समीक्षा गोेष्ठी’को शुभारम्भ समारोहलाई सम्बोधन गर्दै उनले आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने क्रममा कहिलेकाहीँ उल्झन हुने भएकाले त्यसतर्फ सतर्कता अपनाउनु जरुरी रहेको औँल्याए।

उनले भने, ‘अपराधका सङ्ख्या पनि बढिरहेको छ, अपराधको स्वरुप र प्रवृत्तिमा पनि ठूलो परिवर्तन आइरहेको छ, नयाँ प्रविधि विज्ञानका कारणले अपराध नियन्त्रणमा केही सहजता भएको छ तथापि त्यसले अपराधमा वृद्धि हुँदा थप जटिलता पनि थपिरहेको छ, यसतर्फ राज्यको ध्यान गएको छ ।’

नागरिकको जीवनरक्षा, उसको सम्पत्ति र धनको रक्षा गर्ने दायित्व राज्यको भएको उल्लेख गर्दै गृहमन्त्री खाणले यस सन्दर्भमा सुरक्षा निकायलाई सबल, सुदृढ, क्षमता अभिवृद्धिका साथै स्रोत साधन अभिवृद्धि गर्नु जरुरी रहेको बताए । त्यसप्रति सरकार प्रतिबद्धतापूर्वक लागिरहेको उनले विश्वास व्यक्त गरे।

अपराधको सङ्ख्या कसरी घटनाउने, नियन्त्रण कसरी गर्ने त्यसका लागि नेपाल प्रहरीले सीमित स्रोत र साधनका बाबजुद पनि प्रतिबद्धतापूर्वक जुन भूमिका निर्वाह गरिरहेको उनले बताए । उनले कोभिड महामारीको बेलामा नेपालका चिकित्सक, सरसफाइकर्मी, सुरक्षा निकायले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रशंसा गरे ।

जनताको जीउधनको रक्षा, मुलुक र समाजमा शान्ति सुव्यवस्था सरकरको लक्ष्य रहेकाले र त्यसतर्फ दृढता र प्रतिबद्धताका साथ लाग्न उनले सुरक्षा निकायलाई आग्रह गरे । सुरक्षा निकायलमा साधन र स्रोतको अभाव रहेको उल्लेख गर्दै गृहमन्त्री खाणले साधन स्रोत थप्ने, बन्दोबस्तीका सामान व्यवस्थापन गर्ने र सुरक्षा निकायको सक्षमता अभिवृद्धि गर्न सरकार प्रतिबद्ध रहेको बताए । गृहमन्त्री खाणले अपराध नियन्त्रणमा तीनै तहको सरकारको समन्वय आवश्यक भएको बताए ।

उनले पूर्ववर्ती सरकारले केही दलसँग गरेको सम्झौता कार्यान्वयनमा सरकारका प्रतिबद्ध रहेको बताएका छन्। यसप्रति गृह प्रशासन र महान्यायाधिवक्ताको कार्यालयबाट आवश्यक सहयोग र समन्वय भइरहेको उनले बताए । उनले सहमति कार्यान्यनमा सरकार गम्भीर, प्रयत्नरत र इमान्दार रहेको स्ष्पष्ट पारे ।

उनले केही संवैधानिक र कानुनी जटिलता रहेकाले त्यसलाई सम्बोधन गर्दै सबैलाई निर्वाचनमा सहभागी गराउन सरकार प्रतिबद्ध रहेको बताए । एउटा सरकारले प्रारम्भ गरेको प्रयत्न सरसकार बदलिए पनि जनतालाई प्रभाव पार्ने विषयमा त्यसलाई सरकारले निरन्तरता दिने पनि उनले बताए ।

शान्ति प्रक्रियालाई पूर्णता दिँदै मुलुकलाई अघि बढाउन र सबैलाई राष्ट्रिय मूल प्रवाहमा ल्याउन सरकारको सधैँ प्रयत्न रहिरहने पनि उनले बताए ।

समारोहमा महान्यायाधिवक्ता खम्बबहादुर खातीले नयाँ घटना हुने अवस्थामा त्यसको अनुसन्धानका लागि विशेषरुपमा ध्यान दिनुपर्नेमा जोड दिए । उनले निष्पक्ष, स्वतन्त्र, निर्विवाद, सत्यतथ्य र भौतिक प्रमाण बटुलेर अनुसन्धान गर्नुपर्नेमा जोड दिँदै अनुसन्धान अधिकृतलाई स्वतन्त्ररुपमा काम गर्न दिनुपर्नेमा जोड दिए ।

उनले मुलुकी फौजदारी संहिताले अनुसन्धान गर्ने जिम्मा प्रहरीलाई र अभियोजन गर्ने जिम्मा सरकारी वकिललाई दिएको जानकारी दिँदै सत्यतथ्यको आधारमा निचोड निकालियो भने पीडितलाई न्याय पाउने बताए । महान्यायाधिवक्ता खातीले अपराध नियन्त्रणको चुनौतीलाई सामना गर्न राज्यको प्रणालीलाई बलियो बनाउनुपर्नेमा जोड दिए । साइबर क्राइम र आर्थिक अपराधलगायतका जधन्य अपराध नियन्त्रणमा नयाँ नीति निर्माणको आवश्यकता औंल्याए ।

उनले साइबर क्राइमका मुद्दा काठमाडौंमा मात्रै दर्ता गर्ने अवस्थाको अन्त्यका लागि केही नेपाल ऐन संशोधन प्रक्रिाय अघि बढेको पनि जानकारी दिए।

प्रतिक्रिया