शुक्रबार, पुष ४, २०८२

कृषि र पशुपक्षी क्षेत्र विकासका लागि अध्यादेश ल्याइन्छ : मुख्यमन्त्री पाण्डे

नेपालखोज २०७९ भदौ ८ गते २१:१०

हेटौँडा । वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले कृषि र पशुपक्षी क्षेत्रको विकासका लागि अध्यादेशबाट भए पनि कृषिसम्बन्धी कानून चाँडै ल्याउने बताएका छन् ।

हेटौँडामा फियान नेपालले आज खाद्य अधिकार तथा खाद्य सम्प्रभूतासम्बन्धी ऐन कार्यान्वयन सम्बन्धमा आयोजना गरेको कार्यक्रममा उनले कृषि क्षेत्रमा देखिएको मलको समस्या समाधानका लागि प्रदेश सरकारले रासायनिक मल उद्योग स्थापना गर्ने बताए ।

कृषि औजार कारखाना हेटौँडामा खोल्ने तयारी भइरहेको जानकारी दिँदै मुख्यमन्त्री पाण्डेले प्रदेशलाई प्याज र लसुनमा आत्मनिर्भर बनाउने योजना पनि बनिसकेको बताए । प्रदेश सरकारले किसानलाई प्याज र लसुनमा प्रतिकिलो एक रुपैयाँ अनुदान दिने र आवश्यक परे बढाउँदै जाने उनले उल्लेख गरे । प्रदेश विज्ञान प्रविधि विश्वविद्यालय स्थापना गर्न बजेट विनियोजन गरिसकेको बताउँदै मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारले १० हजार युवालाई क्लोज क्याम्पमा राखेर दक्ष जनशक्ति उत्पादन गर्नेसमेत बताए ।

आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले कृषि तथा पशुपक्षी क्षेत्रको विकासका लागि व्यावहारिक कानून तर्जुमा गर्न आफूहरुले महत्वपूर्ण भूमिका खेल्ने बताए । फियान नेपालका अध्यक्ष गोकर्ण रुपाखेतीले कार्यक्रमको उद्देश्य स्पष्ट पारेका थिए ।

कार्यक्रममा प्रदेशका लागि खाद्य अधिकार तथा खाद्य सम्प्रभूतासम्बन्धी ऐनको मस्यौदा मुख्यमन्त्री पाण्डे र कृषि तथा पशुपक्षी विकासमन्त्री हुमागाईंलाई फियान नेपालले हस्तान्तरण गरेको थियो । कृषि तथा पशुपक्षी विकासमन्त्री वसुन्धरा हुमागाईंले कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउने योजना बनाएर काम भइरहेको बताए ।

उनले हाल गैर किसानलाई फाइदा पुग्ने कृषि अनुदान नीति सुधार गरेर किसानको पहुँचमा कार्यक्रम तय गरिएको जनाए । कार्यक्रमका अन्य वक्ताहरूले कृषि र पशुपक्षीका क्षेत्रमा बजेट बढाउनुपर्ने, प्रदेश सरकारले सबै जिल्लामा कृषि विकास कार्यालय स्थापना र सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया