शुक्रबार, पुष ४, २०८२

प्रकाशमानले भने- ढुक्क हुनुस्, कांग्रेसको नेतृत्वमा हुने निर्वाचन सधैं निष्पक्ष हुन्छ

नेपालखोज २०७९ भदौ १० गते १२:०४

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मुलुकमा निर्वाचनको माहोल सुरु भइसकेको बताएका छन् । हरेक निर्वाचन कांग्रेसकै नेतृत्वमा सम्पन्न भएको भन्दै उनले आगामी निर्वाचन पनि कांग्रेसकै नेतृत्वमा हुन लागेकाले निष्पक्ष हुनेमा पनि ढुक्क रहन सबैमा आग्रहसमेत गरेका छन् ।

नेपाल महिला संघका संस्थापक अध्यक्ष मंगलादेवी सिंहको २७औँ स्मृति दिवसका अवसरमा शोभाभगवतीमा शुक्रबार बिहान आयोजित माल्यार्पण कार्यक्रममा उनले कांग्रेसको नेतृत्वमा भएको निर्वाचन निष्पक्ष र भरपर्दो हुने दाबी गरेका हुन् । उनले जनतामा पनि कांग्रेसको नेतृत्वमा भएको निर्वाचन निष्पक्ष हुन्छ भन्ने आम मान्यता रहेको पनि बताएका छन् ।

यो सरकार बन्नुअघिको सरकारले आवश्यक ऐन-कानुन नबनाइदिएकाले अहिले संविधानले दिएका अधिकार चाहियो भनेर प्रदेश र स्थानीय सरकारले बारम्बार आवाज उठाउनुपर्ने अवस्था आएको उनको भनाइ छ । हाल स्थानीय र प्रदेश सरकारले चाहेअनुसार र संविधानमा व्यवस्था भएअनुसारका काम गर्न नसक्नुको कारण तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकार रहेको उनले आरोपसमेत लगाए ।

नेपाल महिला संघ काठमाडौं जिल्ला शाखाको आयोजनामा भएको कार्यक्रममा उनले सरकार र राजनीति दलहरु सबैको ध्यान भयरहित वातावरणमा निष्पक्ष निर्वाचन गराउनेतर्फ लाग्नुपर्ने बताए ।

प्रतिक्रिया