बिहीबार, वैशाख ६, २०८१

अब देउवा कस्तो बन्ने ?

ओम आचार्य २०७९ भदौ ११ गते १२:५३

मंसिर ४ गते निर्वाचनको घोषणा भएको छ । गठबन्धनमा सिट बाँडफाँड अरु पेचिलो बन्दै गइरहेको छ । गठबन्धनभित्र रहेका दलहरुमा के विश्वास छ भने गठबन्धनबाटै टिकट पाए निर्वाचित हुने ठानेका छन् यसै कारण सिट बाँडफाँड पेचिलो बनेको हो । यसको अर्थ गठबन्धनले निर्वाचन प्रभावित पार्ने कुरा बुझ्नुपर्छ । लोकतन्त्रमा निर्वाचन र निर्वाचनको परिणामले देशको लोकतन्त्रमा जन विश्वास र सुशानको पनि मापदण्ड गरिन्छ ।

तर अहिलेको गठबन्धनभित्र वामपन्थी विचार बाेकेका समेतको दह्रो उपस्थिति मात्रै होइन यिनीहरुको गठबन्धनभित्र अर्को गठबन्धनले मंसिर ४ को निर्वाचनसमेतमा आफ्नो अनुकूलको सिट बाडँफाँड हुनेगरी नेपाली कांग्रेसलाई निर्वाचनमा निर्वाचित भएर आउनेहरुको संख्यामा सकेसम्म कम गराउने रणनीति अख़्तियार गरेको देखिँदै छ । देशमा प्रजातान्त्रिक लोकतन्त्र व्यवस्थामा जन-विश्वास र जनआधारका साथै न्याय एवं सुशासन पनि हेर्ने आधार नेपाली कांग्रेस नै हो । वाम शक्तिहरुबाट पटक-पटक लोकतन्त्र र संविधानको मर्ममा गरेको प्राहारको आधारबाट अहिलेको पाँचदलीय गठबन्धनबाट देशमा सुशासन र लोकतन्त्रको संरक्षण हुन सक्छ भन्न सकिँदैन ।

गठबन्धनले निर्वाचनमा प्रजातन्त्र र लोकतन्त्रमा आस्था रहेको मतलाई देखाउँदैन देखाउँछ तर गठबन्धनभित्र रहेको अन्य दलको समेत मत देखिन्छ । त्यसमा नेपाली कांग्रेसको समेत मत देखिन्छ । त्यसले देशमा प्रजातन्त्र र लोकतन्त्रप्रति कति आस्थावान् छन्, कति कांग्रेसप्रति जनआधार छ, त्यो गठबन्धनले प्रभावित पार्नेछ ।

यसले निर्वाचन प्रभावित गर्नेछ । प्रजातन्त्रमा गठबन्धनको नाममा कुनै पनि कारणबाट निर्वाचन प्रभावित, प्रचारित या प्रसारित गरिन्छ भने त्यसले निर्वाचन स्वस्थ्य र निष्पक्ष हुन दिँदैन । त्यस्तो प्रकारको निर्वाचनले देशमा दिगो राजनीतिक शासन प्रणाली दिन सक्दैन । गणतन्त्रात्मक संविधानमै प्रश्न चिह्न लाग्न सक्छ । योभन्दा पूर्व एमाले र माओवादीको गठबन्धनले निर्वाचन मात्रै प्रभावित पारेन दुईतिहाइको सरकारसमेत गिर्न पुग्यो । जनमानसमा गणतन्त्र र संविधानमा प्रश्न नै उठाए यसको मूल कारण हो लोकतन्त्र र प्रजातन्त्रामा सदैव क्रियाशील रहेको नेपाली कांग्रेस अत्यन्त कमजोर अवस्थामा प्रतिपक्षी रहनु पनि हो ।

देउवाले आफ्नो भर कांग्रेसमा कांग्रेसको भर देउवामा देख्नुपर्छ

अहिले पुन: पाँचदलीय गठबन्धनले यस्तै अवस्था भित्रिने ख़तरा देखिँदै छ । यो गठबन्धन निर्माण र उद्देश्य नै नकारात्मक भाव र विचारबाट अभिप्रेरित छ । मात्रै नेकपा एमालेलाई कमजोर तुल्याउनु हो र यसमा विशेष गरेर प्रचण्ड र माधव नेपालको द्वेषपूर्ण राजनीतिक प्रतिशोध मात्रै हो । यही अभिष्ट पूरा गर्न नेपाली कांग्रेसलाई प्रयोग गर्यो । भोलि निर्वाचनको परिणामपछि नेपाली कांग्रेसको अवस्था कस्तो हुन्छ त्यसको लेखाजोखा त्यसको राजनीतिक अध्ययन कांग्रेसले गरेको छ कि छैन ।

गठबन्धनका नाममा नेपाली कांग्रेसले सिट बाँडफाँडमा आफ्ना कार्यकर्ताको व्यवस्थापन कसरी गर्छ र गर्न नसक्दाको परिस्थितिको कसरी आकलन गरेको छ त्यो पनि अहिले नै विचार पुर्याउनुपर्नेछ । पाँचदलीय गठबन्धनले भोलि कांग्रेसमा अन्तरघात, विचलन र पार्टी विग्रह पनि गर्न सक्ने अवस्था आउन सक्छ । त्यसको मूल कारण प्रचण्ड र माधव नेपालको रणनीति हुन सक्छ । वाम शक्तिहरु सधैं प्रजातन्त्र र लोकतन्त्रमा घात गर्ने शक्ति हुन् । त्यसका लागि पहिले कांग्रेसलाई कमजोर बनाउँदै लैजानु र त्यहाँभित्र द्वन्द्व पैदा गर्नु मुख्य उद्देश्य वामशक्तिको रहन्छ । अहिले कांग्रेसभित्र यस्तै दृष्य देखिँदै छ ।

पार्टी सभापति एवं प्रधानमन्त्री शेरबाहादुर कस्तो बन्न चाहन्छन् ? पार्टी सभापति एवं प्रधानमन्त्रीसमेत रहेका देउवाले यो विषयमा कति गम्भीरतापूर्वक लिएका छन् त्यो निर्वाचनपछिको नतिजाले परिणाम देखाउला । पहिलो कुरा त नेपाली कांग्रेसले आस्था राखेको विश्वास गरेको सभापति देउवामा त्यो आस्था र विश्वासले आफू अपमानित हुन नपरोस् ।

त्यो आस्था र विश्वास बोकेका कांग्रेसजनमा देउवाका कारण शिर नझुकोस् । कांग्रेसप्रतिको आस्था देउवाका कारणले दयनीय बन्नु नपरोस्, देउवाका लागि यो अन्तिम अवसर हो कांग्रेसलाई उठाउने । देउवा आफ्नो कस्तो इतिहास बनाउन चाहन्छन् ?योभन्दा पूर्वको बनेको इतिहास अझ बिगार्ने हुन् कि अझ सबल र सक्षम हुँदै गर्व गर्न लायक हुने हुन् । देउवाको नेतृत्वमा बनेको सरकार उनकै डिजाइनमा भइरहेको गठबन्धन उनैलाई घातक नहोस् अर्थात कांग्रेसलाई घातक नहोस् । अहिले गठबन्धनमा देउवाको पकडभन्दा पनि प्रचण्डको पकड देखिनुले कांग्रेसमा निराशाजनक स्थिति देखिँदै छ ।

अहिले कांग्रेसको भर देउवामा मात्रै हैन देउवाले आफ्नो भर कांग्रेसमा देख्नुपर्छ त्यो धारणा देउवाले आफूमा धारण गरे कांग्रेस सुध्रने र आपसी द्वेष र मतान्तर पनि हराउँदै जाने हो यो कुरा सबैले बुझ्नुपर्छ । त्योभन्दा पनि सभापति रहेका देउवाले अझ बढी बुझ्नुपर्छ । अहिले कांग्रेस सभापतिसमेत रहेका देउवाप्रति कांग्रेसको विश्वास र आस्थाले कांग्रेसको भोलि चरित्र अझ खराब हुने हो कि सफा हुने हो त्यो आस्था र विश्वासले कांग्रेसको मार्ग सुगम र सरल हुने हो कि अझ विकट, कांग्रेसलाई देउवाले चौरास्ता छोडेर जान्छन् कि मार्ग पहिचान गराउँछन् ? अब देउवामाथि यस्तै प्रश्न आउँछ र त्यस्को उत्तर स्वयं देउवाले दिनुपर्छ । यही देउवाको उत्तरले उनको भविष्य निर्धारण गर्छ कि देउवा कस्तो बन्ने ?

देउवामा अर्को संकट पनि नजिकै देखिँदै छ । यो संकटको सूत्रधार देउवा नभएर प्रचण्ड हुन् । राष्ट्रपतिबाट परिमार्जनका लागि पठाएको नागरिकताको विधेयक पुन: जस्ताको तस्तै पठाएपछि सिर्जित अवस्थाले आएको हो । यसरी पठाउनेमा प्रचण्डको विचार अभिव्यक्तिले काम गरेको छ । अहिले राष्ट्रपतिबाट राजीनामा दिनेसम्मको समचार सामाजिक सन्जालमा आएपछि देउवामा संकट देखिन सक्छ । त्यसको प्रभाव अर्थात् नकारात्मक प्रभाव कांग्रेसमा आउन सक्ने हो । यहाँनेर वाम शक्ति अर्थात् गठबन्धनभित्रका वाम शक्तिले आफ्नो राजनीतिक स्वार्थ पूरा गर्नेछ्न् । यो प्रकरणमा प्रचण्ड र माधव नेपाल र नेकपा एमालेको निहित स्वार्थ पूरा हुनेछ ।

यसमा यिनीहरुको अप्रत्यक्ष मोर्चा जस्तो हुन सक्छ । अहिले देउवामा गठबन्धनभित्रका सहयात्री र प्रतिपक्षमा रहेको नेकपा एमाले दुवैको बन्धनभित्र पर्ने अवस्था आउन सक्ने भएकाले देउवाले सुझबुज र चातुर्य देखाउनुपर्नेछ । यसका लागि यिनले आफ्ना राजनीतिक गुरु बीपीलाई अन्तकरणबाटै सम्झेर मार्ग खोज्दै ‘देउवाले आफ्नो भर कांग्रेसमा कांग्रेसको भर देउवामा’ देख्नुपर्छ यो सोचले अगाडि बढ्ने हो भने देउवाले आफ्नो विगत र आदत दुवै सुधार्न सक्नेछन् ।

प्रतिक्रिया