सोमबार, वैशाख ३१, २०८१

वाग्मतीको भत्केको फट्के !

अहिलेको धनी भनिएकाहरुभन्दा त्यो बेलाका गरिबहरु बढी जिम्मेवार थिए भन्ने सहजै अनुमान गर्न सक्छौं ।

सुनील उलक २०७८ भदौ ९ गते ९:४१

पुलका इतिहासहरु खोज्दै जाँदा तथा कोर्दै जाँदा धेरै किसिमका इतिहासहरु भेटिए । दूरदराज गाउँमा राणाकालमा चन्द्रशमशेरको समयमा स्कटल्यान्डबाट सामग्री मगाएर बनाइएका आधुनिक झोलुंगे पुलका निर्माणका इतिहासले राणाप्रति नकारात्मकताको प्रचार अत्यधिक भएको पुष्टि हुन्छ । अर्कोतर्फ गाउँघरमा आफ्नै श्रम र स्रोतले बनाइएका झोलुंगे पुलहरुले गरिब जनतामा पनि सामाजिक चेतना तथा केही गरौं भन्ने भावना ओतप्रोत भएका इतिहास बुझ्न पाएका छौं । आफ्नो निजी खर्चमा बनाइदिएका पुलहरुको इतिहास पनि निकै भेटिएका छन् । फेसबुकमार्फत मलाई पठाइएका जानकारीहरुका आधारमा भन्नुपर्दा सयौं पुल निजी खर्चमा बनाइदिएका भेटेका छौं । अहिलेको धनी भनिएकाहरुभन्दा त्यो बेलाका गरिबहरु बढी जिम्मेवार नागरिक थिए भन्ने सहजै अनुमान गर्न सक्छौं ।

राणाकाल समाप्त भएपछि बनाइएको हाडीगाउँको भत्केको पुलले २००७ देखि २०१५ सालबीचको राजनीतिक अस्थिरताको समयमा घूसखोरी र कमिसनतन्त्रको सुरुवात भएको नमुनाको रुपमा बुझ्न सक्छौं । पुल बनेको केवल तीन वर्षमा (कसै कसैको भनाइमा उद्घाटनको तीन दिनमा) नै पुल भत्किएको थियो ।

जसले अहिले गणतन्त्रकालको पुलहरुको सम्झना आउँछ । करोडौं रुपैयाँ खर्चेर बनाइएका पुलहरु भत्किँदा मुनाफाखोर र कमिसनतन्त्रको नमुनाका रुपमा बुझ्न सक्छौं । नेपालमा अहिले विकासका कुनै पनि काममा निश्चित बजेटको केवल ४० प्रतिशत मात्र खर्च गरिने गरिन्छ । बाँकी ६० प्रतिशत कमिसन तथा ठेकेदाको नाफामा सकिने गर्दछ । जसले गर्दा गुणस्तरीय कामको अपेक्षा राख्नु मूर्खता हुन्छ ।

मसँग नेपाल भरिका २०० भन्दा बढी साँघु, फट्के, तुइन, पक्की पुल तथा झोलुंगे पुलका तस्बिरमा केही तस्बिरहरु निकै मन छुने छन् । तुइनमा झुन्डिएर खोला तर्दै गरेका तस्बिरहरुले त सबैको मन छुने गर्दछ । काठे पुलहरुमा समय र मौसमले बिग्रिएर अस्थिपञ्जर झैं बचेका केही फल्याकहरुमा टेक्दै पुलमा हिँड्न बाध्य ती जनताको दु:ख सम्झँदै सरकारलाई धिक्कार्न मन लाग्छ । अहिले गणतन्त्रले जनताको दु:ख बुझ्नेछ भनेका थिए तर अहिले पनि स्थानीय सरकारमा रहेकाहरु जनताका वास्तविक आवश्यकताभन्दा अनावश्यक डाँडाको टुप्पामा करोडौ खर्चेर भ्युटावर तथा कंक्रिटका नमुनाहरु बनाउँछन् ।

संखुवासभाको मुडे बजारमा नक्कली चाँपको रुख बनाइएको छ । इनरुवाको सखुवागाछीमा नक्कली सखुवा रोपिएको छ । दैलेखको गुराँस गाउँपालिकामा नक्कली गुराँस बनाइएको छ । तेह्रथुमको लालीगुराँस नगरपालिकाले पनि नक्कली गुराँस फूलाएको छ । लसुने बजारमा नक्कली लसुन बनाइएको छ ।

उदयपुरमा नक्कली बेलको फल चोकमा सजाइएको छ । धनकुटाको जितपुर बजारमा रुद्राक्ष, धनकुटा बजारमा एभाकाडो, कागतेमा कागती, सिंधुवामा काउली, छिन्ताङमा सुन्तला, हिलेबजारमा तोङ्वा, सिन्धुली माडीमा जुनारको बोट रोपिएको छ । हालै मैनामैनीमा सिमेन्टको सुँगुर बनाइएको छ । यहाँ यसैलाई विकास भनिन्छ । केही व्यक्तिले सीमित स्वार्थले बनाइएका यस्ता संरचना अहिलेको सामाजिक सन्जालका प्रयोगकर्ताको लागि फोटो र भिडियो खिच्ने स्थल त बन्नेछ । तर केही वर्षपछि मर्मत सम्भार नहुँदा कुरुप बन्नेछ । प्राकृतिक रुख-बिरुवाले जुन किसिमको मानव जीवनलाई सहयोग गर्दछ । यी कृत्रिम रुख बिरुवा वा यस प्रकारको नमुनाले केही सेवा गर्दैन । योभन्दा जनतालाई अति आवश्यक र बनाउनैपर्ने धेरै कुराहरु थिए होला । तर ती सबैलाई बेवास्ता गरिए । अब त विरोध गर्दा पनि यस्ता संरचनाका समर्थकहरुका विभिन्न तर्कहरु आउने गर्दछन् । त्यहाँ कतिपय जनताका आधारभूत आवश्यकता धेरै हुन सक्छ ।

May be a black-and-white image of one or more people and body of water

पुराना पुलहरुका तस्बिरहरुमा घोत्लिँदा मलाई केही तस्बिरले मन छोएको थियो । जसमा यो तस्बिर पनि पर्दछ । यो पुल वाग्मती नदीमा बनाइएको हिउँदे पुलको हो । हरेक वर्षातको समाप्तिपछि हिउँदमा यस प्रकारको पुल बनाउने गरिन्थ्यो । वर्षात्‌को भेलसँगै यस प्रकारको पुलहरु भत्केर जाने गर्दथ्यो । फेरि अर्को वर्ष मर्मत गरेर बनाइन्थ्यो ।

यहाँ तस्बिरमा यसरी नै वर्षे भेलले भत्किएको फट्केको बचेको केही मुढाहरुमा टेक्दै वाग्मती तर्न खोज्दै गरेको देख्न सकिन्छ । यही तस्बिरलाई हेरेर सानो दुई शब्द पनि कोरेको थिएँ मैले ।
पाइला बढे कै थिए मेरा अगाडि
कठिनताको परवाह थिएन मलाई
टुटिसके मैले भर्खर टेकेको बाटो
नियतिले फर्कन पनि दिएन मलाई ।।

प्रतिक्रिया