व्यास जन्मभूमि र पराशरको तपोभूमि दमौलीलाई धार्मिक पर्यटनको केन्द्र बनाइने

दमौली । व्यासको जन्मभूमि तनहुँको दमौलीलाई धार्मिक र सांस्कृतिक पर्यटकीय केन्द्रका रुपमा विकास गरिनुपर्ने आवश्यकता औँल्याइएको छ । देशकै प्रमुख पर्यटकीय गन्तव्य पोखरा जाने पृथ्वी राजमार्गमा पर्ने व्यास र पराशर गुफासहितको धार्मिक सांस्कृतिक महत्वको दमौली क्षेत्रमा धार्मिक आस्थाका पर्यटक आकर्षित गर्न सकिनेछ । त्यसका लागि व्यासको जन्मभूमि तथा पराशर ऋषिको तपोभूमि, शिरमा रहेको मानुङकोट तथा वरपरका प्राकृतिक, सांस्कृतिक, धार्मिक स्थल रहेको यो क्षेत्रको प्रचारको हुनुपर्ने आवश्यकता औंल्याइएको छ ।
वेदव्यासले महाभारत, चारवेद र अठार पुराणको रचना गरेको दाबी र विभिन्न स्रोतले प्रमाणित गरेपनि व्यासभूमिको उचित प्रसार हुन नसकेको व्यास क्षेत्र विकास कोषका अध्यक्ष अशोककुमार श्रेष्ठ बताउँछन् । ‘व्यास जन्मिएको, पराशरले तपस्या गरेको ठाउँ आज संसारभर प्रख्यात हुनुपर्थ्यो, तर त्यसो हुन सकिरहेको छैन,’ श्रेष्ठले भने, ‘जनस्तरबाट त प्रयास सुरु भयो, तर राष्ट्रियस्तरबाट हुन सकेको छैन ।’
व्यासभूमिलाई विश्वभर परिचित गराउन र धार्मिक पर्यटनको विकास गर्ने उद्देश्यसहित कोषकै सक्रियतामा १०८ फिट अग्लो व्यासको मूर्ति बनाउन आवश्यक पूर्वाधार निर्माण थालिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र व्यास नगरपालिकाबीच सम्झौता भई पहिलो चरणमा पाँच करोड ८४ लाख ८४ हजार रुपैयाँमा मूर्ति अड्याउने स्तम्भ निर्माणको काम भइरहेको छ । मन्त्रालयको समपूरक अनुदान तीन करोड ८० लाख १४ हजार रुपैयाँ छ । नगरपालिकाले दुई करोड चार लाख ६९ हजार रुपैयाँ लागत साझेदारी गरेको छ । पर्यटन मन्त्रालयबाट अहिलेसम्म रकम आएको छैन । सम्झौताको रकम नआएपछि भइरहेको कामको भुक्तानी दिन समस्या भएको कोषले जनाएको छ ।
दमौलीमा घुम्नलायक थुप्रै धार्मिक तथा पर्यटकीय गन्तव्य छन् । तर यहाँ पर्यटकलाई अझै आकर्षित गर्न सकिएको छैन । पर्यटकीय नगरी बन्दिपुरदेखि प्रदेशको राजधानी पोखरा जाने आन्तरिक तथा बाह्य पर्यटकलाई यस क्षेत्रमा घुम्ने वातावरण बनाउन नसकिएको स्थानीयवासी बताउँछन् ।
व्यासको जन्मभूमि दमौलीमा शिवपञ्चायन मन्दिर छ । मन्दिरको केही तलपट्टि व्यासगुफा छ । जहाँ बसेर व्यासले चारवेद र अठार पुराणको रचना गरेको दाबी गरिन्छ । व्यास गुफाको पारिपट्टि पराशर गुफा छ । पराशर गुफासम्म पुग्न मादी नदीमा झोलुंगे पुल निर्माण गरिएको छ । व्यासगुफासम्म घुम्न आएकाहरु पुल तरेर मादी सेती नदीको संगमस्थल पराशर क्षेत्र पुग्छन् ।
नजिकैको तनहुँ जलविद्युत् आयोजनाले यस क्षेत्रमा आकर्षण थपेको छ । यस ठाउँवरपर घुम्ने गन्तव्य धेरै छन्, जसले गर्दा एक दिन मात्र समय छुट्याएर आउनेहरुलाई यो समय अपुग हुन सक्छ ।
दमौली आसपास पर्यटक आकर्षित गर्ने पूर्वाधार थपिने क्रम जारी छ । व्यास-१० स्थित परेवाडाँडामा परेवाको र दुम्सीचौरमा दुम्सीको मूर्ति बनाइएको छ । यस ठाउँमा आन्तरिक पर्यटक आउने निवर्तमान वडाध्यक्ष तुलसीराम सापकोटाले जानकारी दिए ।
वडा कार्यालयको तीन लाख रुपैयाँ र स्थानीयवासीको सहयोग गरी एक लाख २० हजारतमा दुम्सीचौरमा दुम्सीको मूर्ति राखिएको छ । सार्वजनिक बिदा र शनिबारको दिन यहाँ सर्वसाधारण घुम्न आउने स्थानीय किशोर गुरुङले बताए । टिकटकलाई भिडियो बनाउन सर्वसाधारणको यहाँ भिड लाग्छ ।
दमौली बजार छर्लंग देखिने मानुङकोट यहाँको पर्यटकीय गन्तव्यमध्ये प्रख्यात ठाउँ हो । कोभिड-१९ को बन्दाबन्दीमा यहाँ एकैदिन हजारौं पर्यटक पुगे । मानुङकोटबाट देखिने कुहिरो र नागबेली परेर बग्ने मादी नदीको पृष्ठभूमिमा देखापर्ने हिमशृंखला यहाँको थप आकर्षण स्थल हो ।
विभिन्न शास्त्रीय प्रमाणले व्यासको जन्मभूमि दमौली भएको स्वीकार गरिसके पनि प्रचार अभावमा यस क्षेत्र ओझेलमा परेको व्यासका अध्येता काशीनाथ न्यौपानेले बताए । व्यासको भूमिलाई विश्वमाझ चिनाउन बेला-बेलामा कार्यक्रम भइरहे पनि त्यसले मूर्त रुप पाउन नसकेको उनको गुनासो छ । ‘व्यास भूमिलाई पौराणिक, आध्यात्मिक, धार्मिक, पुरातात्त्विक र ऐतिहासिक दृष्टिले परिचित गराउन र धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्यले बेला-बेलामा कार्यक्रमहरु भइरहेकै छन्,’ न्यौपानेले भने ।
व्यासभूमिलाई अन्तर्राष्ट्रिय स्तरसम्म परिचित गराउँदै धार्मिक गन्तव्य बनाउन विविध कार्यक्रम हुँदै आएको छ । विश्वका हिन्दुधर्मावलम्वी र ओमकार परिवारको मूल तीर्थस्थल बनाउने उद्देश्यले केही वर्ष अगाडि व्यासक्षेत्रमा १८ महिने अखण्ड हरिनाम सम्पन्न भयो । २०४१ मा योगी नरहरिनाथले कोटीहोम लगाउने सिलसिलामा भएको धर्म सभामा महर्षि वेदव्यासको अवतरण भूमि दमौली स्थित शुक्लामाहेन्द्री संगम भएको बताएका थिए । त्यसपछि यस क्षेत्रको थप अध्ययन अनुसन्धान हुन थालेको न्यौपानेले बताउँछन् ।
न्यौपाने अगाडि थप्छन्, ‘नरहरिनाथले धर्मसभामा महर्षि वेदव्यासको २८औं अवतार दमौलीमा भएको भनेपछि यस क्षेत्रको बारेमा अध्ययन अनुसन्धान गर्न प्रेरणा मिल्यो ।’ व्यास पराशर क्षेत्रको प्रवर्द्धनमा व्यास नगरपालिका प्रतिबद्ध रहेको नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताए । व्यासको मूर्ति निर्माण गर्न चालु आर्थिक वर्षमा एक करोड रुपैयाँ विनियोजन गरिएको छ ।
व्यासको जन्मबारेको प्रसंगमा दमौलीदेखि ८ किमि पूर्व छाब्दी बाराहको मन्दिरदेखि करिब ५० मिटर पश्चिमपट्टिको कुण्डमा व्यासकी माता सत्यवतीको जन्म भएको मानिन्छ । माछाको रूपबाट जन्म भएकाले त्यस कुण्डको नाम मच्छेकुण्ड रहेको बताइन्छ । योगी नरहरिनाथले ‘आध्यात्मिक नेपाल एवं हिमालय देवोदेश’मा पाँच नदी सेती, मादी, बुल्दी, गुणादी र र छाब्दीको संगमलाई व्यासको जन्मभूमि, कर्मभूमि र तपोभूमि, स्वामी प्रपन्नाचार्यले ‘मिल्केका झिल्का’ मा दमौली क्षेत्रलाई र कुमारबहादुर जोशीले आफूले अन्तर्वार्ताका क्रममा मादी र सेतीको संगम नै व्यास (कृष्ण द्वैपायन)को जन्मस्थल भएको पाएको उल्लेख गरेका छन् । -रासस
प्रतिक्रिया