बिहीबार, चैत १५, २०८०

‘खाना मिलाएर खाए औषधि हुन्छ’

नेपालखोज २०७९ भदौ १२ गते १२:२४

काठमाडौं । घरमा भएका अन्न, तरकारी, फलफूल र भान्साको मसलालाई सही तरिकाले सेवन गर्ने विधि सिकाउने पुस्तक ‘प्राकृतिक भोजन स्वस्थ जीवन’ पाठकमाझ आएको छ । योग शिक्षक केदार खड्काले लेखेका उक्त पुस्तकमा हामीले खाएको भोजनले शरीरलाई मात्र नभई मन र विचारलाई पनि सिधा प्रभाव पार्ने उल्लेख छ ।

पतञ्जलि योग समिति भक्तपुरका अध्यक्षसमेत रहेका खड्काको यो तेस्रो कृति हो । यसअघि उनका ‘स्वस्थ जीवन सुखी जीवन’ र ‘स्वस्थ जीवन जिउने कला’ शीर्षकका दुई पुस्तक पाठकमाझ आइसकेका छन् । लेखकले आफ्ना दिवंगत बुबा इन्द्रबहादुर खड्का र दिवंगत आमा सान्नानी खड्कामा समर्पण गरेका उक्त पुस्तकको प्रकाशन कमला खड्काले गरेकी हुन् ।

भोजनको महत्त्व यति धेरै हुँदा पनि मानिसले जिब्रोको स्वाद र क्षणिक आनन्दका लागि गलत र बढी भोजन गर्दै आएका लेखक एवं वरिष्ठ समाजसेवी खड्काको भनाइ छ । भोजनको प्रभाव शरीरमा भन्दा बढी मनमा पर्ने बताउँदै उनले भने, ‘जस्तो खायो अन्न, त्यस्तै बन्छ मन । जस्तो मन बन्छ त्यस्तै हुन्छ विचार ।’ लेखकले डर, त्रास, क्रोध, तनाव आदि नकारात्मक भावना उठेका बेला कहिले पनि खाना खान नहुने पुस्तकमा उल्लेख गरेका छन् । खाना बिस्तारै जति चपाएर खायो, त्यति कम खाए पुग्ने र खाएको खाना राम्ररी पचेर शरीरमा काम गर्ने उनको तर्क छ ।

पतञ्जलि योग समिति भक्तपुरको १६औं स्थापना दिवसका अवसरमा आयोजित समारोहमा प्रमुख अतिथि पतञ्जलि योग समिति नेपालका मुख्य केन्द्रीय प्रभारी लवदेव मिश्रलगायत विशेष अतिथि साद्वी देवकृपा, महिला सह-केन्द्रीय प्रभारी अर्चना घिमिरे र वाग्मती प्रदेशका प्रमुख ग्रोविन तौजलेले पुस्तकको विमोचन गरेका हुन् ।

कार्यक्रममा प्रमुख अतिथि मिश्रले सम्पूर्ण नेपालीलाई स्वस्थ राख्ने अभियानलाई सफल र सार्थक बनाउन भक्तपुर जिल्लाबाट पुस्तकका लेखक खड्का र उनका साथीहरुले मिलेर विगत एक दशकदेखि प्रयत्न गरेका बताए । पुस्तकमा खानालाई सही तरिकाले खान सके यसले औषधिको काम गर्ने र गलत तरिकाले खायो भने मन्द विषको काम गर्ने भएकाले सधै प्राकृतिक भोजन गर्न लेखकले सबैलाई उत्प्रेरित गरेका मुख्य केन्द्रिय प्रभारी मिश्रले बताए ।

रोग प्रतिरोधात्मक क्षमता बढाउन नियमित ब्यायम, उचित भोजन र तनाव व्यवस्थापन जरुरी रहेको आफूले पाएकाले पुस्तकमा प्राकृतिक भोजनबारे जानकारी दिने प्रयास गरेको योग शिक्षक खड्काले बताए ।

प्रतिक्रिया