मंगलबार, पुष १, २०८२

एमालेबाहेक कुनै पनि शक्तिले राष्ट्रियता र स्वाभिमान बचाउन सक्दैन : महासेठ

नेपालखोज २०७९ भदौ १३ गते १५:३२

काठमाडौं, १३ भदौ । नेकपा (एमाले) का सचिव तथा पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठले आगामी निर्वाचनमा आफ्नो पार्टीले एक्लै बहुमत ल्याएर इतिहास रच्ने दाबी गरेका छन् । उनले एमालेबाहेक यो देशका कुनै पनि शक्तिले राष्ट्रियता र स्वाभिमान बचाउन नसक्ने टिप्पणी समेत गरेका छन् ।

आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै महासेठले अहिलेको पाँच दलीय गठबन्धनलाई राष्ट्रघातीहरुको संज्ञा दिए । उनले एमालेले आफ्नो सम्पूर्ण शक्ति चुनावमा केन्द्रित गरेको सुनाए । उनले भने, ‘देशमा चुनावी वातावरण बनको छ । सबै पार्टीहरु निर्वाचनको तयारीमा जुटेका छन् । वडा कमिटीदेखि लिएर केन्द्रीय कमिटीसम्म, जे–जे निर्णय गर्नुपर्ने हो, त्यहीअनुसार दलले निर्वाचन प्रक्रिया अघि बढाएका छन् । ‘

एमालेले यसपटकको चुनावलाई गम्भीर रुपमा लिएको उनकाे भनाइ छ । साथै एमाले राष्ट्रवादी पार्टी भएको हुनाले, जनताको आकांक्षालाई कसरी पूरा गर्ने, राष्ट्रियता कसरी बचाउने, बचाउनको लागि आउने चुनावमा सरकार बनाउन जरुरी देखिएको उनले बताए ।

प्रतिक्रिया