मंगलबार, पुष १, २०८२

आयात प्रतिस्थापन र नेपाली उत्पादनको प्रवर्द्धनमा टेवा पुर्‍याउन फर्निचर एक्स्पो

नेपालखोज २०७९ भदौ १३ गते १६:२८

काठमाडौं । नेपाल फर्निचर तथा फर्निसिङ संघका अध्यक्ष शुभेन्द्र जोशीले आयातित फर्निचरजन्य उत्पादनलाई प्रतिस्थापन गर्ने लक्ष्यका साथ फर्निचर एक्स्पो आयोजना गर्न लागिएको बताएका छन् ।

वर्षेनी झण्डै ६० अर्ब रुपैयाँ बराबरको फर्निचरजन्य उत्पादनको कारोबार हुँदै आएकोमा ५० प्रतिशत हिस्सा आयातित वस्तुले ओगटेको संघका अध्यक्ष जोशीले बताए ।

‘तयारी वस्तु उत्पादनमा अन्य मुलुकले प्रयोग गर्दै आएका प्रविधिको प्रदर्शनी र सोको जानकारी व्यवसायीका लागि एक्स्पोमा आकर्षण बन्नेछ,’ जोशीले भने, ‘अन्य मुलुकबाट आउने तयारी उत्पादनमा भर पर्नुपर्ने अवस्थाको अन्त्य गर्न एक्स्पोले सहयोग पुर्याउनेछ भने स्वदेशमा नै कसरी गूणस्तरीय तयारी वस्तु उत्पादन गर्ने भन्ने विषयमा जानकारी दिनेछ ।’ फर्निचर तथा फर्निसिङका उत्पादकहरुले आफ्ना उत्पादनको बारेमा उपभोक्तालाई एकै स्थानमा जानकारी दिन सकुन् भन्ने उद्देश्य सहित एक्स्पो आयोजना गरिएको जोशीको भनाई छ ।

भदौ २३ देखि २७ गतेसम्म राजधानीको भृकुटीमण्डपमा आयोजना हुने एक्सोका संयोजक ओम बस्नेतले स्वदेशमा नै तयारी वस्तु उत्पादन गर्न सक्ने अवस्था बन्दै गएको बताए । यद्यपि राज्यस्तरबाट त्यसमा पहलकदमी नलिएको अवस्थामा एक्स्पोले राज्यको ध्यान तान्ने अपेक्षा रहेको बताए ।

यस पटकको एक्स्पोलाई स्वदेशी ब्राण्ड प्रेस्टिज कार्पेटले प्रायोजन गरेको छ । स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने लक्ष्यका साथ आयोजना भएको एक्स्पोलाई स्वदेशी ब्राण्डले नै प्रायोजन गरेको प्रेस्टिज कार्पेटका सञ्चालनक अनिल महेश्वरीले बताए ।

प्रतिक्रिया