शनिबार, जेठ ५, २०८१

नेप्सेको उकालो यात्रा कायमै, २.३३ अंकले बढ्दा १ अर्ब १ करोडको कारोबार

नेपालखोज २०७९ भदौ १४ गते १७:००

काठमाडौं । नेप्सेको वृद्धिले साताको तेस्रो कारोबार दिन आज (मंगलबार) पनि निरन्तरता पाएको छ । अघिल्लो दिन तीन दशमलव ७६ अंकले बढेको नेप्से मंगलबार पुनः दुई दशमलव ३३ अंकले बढेर एक हजार नौ सय ९५ दशमलव ३४ अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ४९ अंकले बढेर तीन सय ८८ दशमलव ९५ अंकमा पुगेको छ ।

दुई सय २६ कम्पनीको २० हजार आठ सय ५८ पटकको कारोबारमा २९ लाख १४ हजार पाँच सय पाँच कित्ता सेयर खरिद–बिक्री भएको छ । आज कुल कारोबार रकम एक अर्ब एक करोड ९५ लाख १६ हजार ६ सय ९६ रुपैयाँ पुगेको छ ।

नेप्सेमा मंगलबार १३ समूहको कारोबार भएकामा सात समूहको सूचक बढेका छन् भने बाँकी समूहको सूचक घटेका छन् । सोमध्ये वाणिज्य बैंक समूहको सूचक शून्य दशमलव ७६ अंकले घटेर एक हजार तीन सय ३८ दशमलव शून्य ६ अंकमा झरेको छ । जलविद्युत् समूहको सूचक पनि १८ दशमलव नौ अंकले घटेर दुई हजार दुई सय ९२ दशमलव ३९ अंकमा झरेको छ ।

निर्जीवन बिमा समूहको सूचक पनि ६ दशमलव ३७ अंकले घटेर सात हजार नौ सय ५५ दशमलव ९४ अंकमा झरेको छ । जीवन बिमा समूहको सूचक पनि दुई दशमलव ३६ अंकले घटेर नौै हजार तीन सय ६७ दशमलव १८ अंकमा झरेको छ । यीबाहेक फाइनान्स र होटेल तथा पर्यटन समूहको सूचक पनि घटेको छ । विकास बैंक समूहको सूचक भने ६ दशमलव २३ अंकले बढेर तीन हजार पाँच सय ७९ दशमलव ९४ अंकमा चढेको छ । लघुवित्त, ट्रेडिङ, उत्पादनमूलक, अन्य, सामूहिक लगानी कोष र लगानी समूहहरूको सूचक पनि बढेका छन् ।

नेप्सेमा मंगलबार हिमालयन एभरेस्ट इन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको मूल्य १० प्रतिशतले बढेर दुई सय ३१ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा विन लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य चार दशमलव ७७ प्रतिशतले घटेर नौ सय ९९ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी मंगलबार नेपाल टेलिकमको प्रतिकित्ता नौ सय ४० रुपैयाँ अन्तिम मूल्यमा नौ करोड ५७ लाख ७२ हजार पाँच सय ७५ रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरूको कारोबार रकममध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया