बुधबार, पुष २, २०८२

नेपाली सेनाको मानार्थ महारथी दर्जा ग्रहणका लागि भारतीय स्थल सेनाध्यक्ष नेपाल आउँदै

नेपालखोज २०७९ भदौ १५ गते १३:५२

काठमाडौं । नेपाली सेनाको मानार्थ महारथी दर्जा ग्रहणका लागि भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पाण्डे नेपाल आउने भएका छन् । प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा पाण्डे भदौ १९ गते पाँच सदस्यीय टोलीका साथ नेपाल आउन लागेका हुन् ।

नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशालयका अनुसार भदौ १९ देखि २३ गते (सेप्टेम्बर ४ देखि ८ तारिख) सम्म हुने पाँच दिवसीय भ्रमणका अवसरमा पाण्डेले सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण, जंगी अड्डामा सम्मान गारत निरीक्षण गर्ने कार्यक्रम तय भएको छ ।

भ्रमणको मुख्य अंशका रुपमा रहेको नेपाली सेना र भारतीय सेनाबीचको परम्पराअनुसार भारतीय सेनाध्यक्ष पाण्डेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले एक विशेष समारोहबीच नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम छ । पाण्डेले भ्रमणका दौरान प्रधानमन्त्री एवं रक्षामन्त्री शेरबहादुर देउवासँग औपचारिक भेट गर्ने कार्यक्रम पनि तय भएको निर्देशनालयले जनाएको छ ।

नेपाल भ्रमणका क्रममा पाण्डेले नेपाली समकक्षी शर्मासँग भेटघाट एवं छलफल पनि गर्नेछन् । यस्तै भारतीय सेनाका तर्फबाट नेपाली सेनालाई सहयोग स्वरुप प्रदान हुने विविध सामग्रीको हस्तान्तरण कार्यक्रमलगायत कमान्ड तथा स्टाफ कलेजका शिक्षार्थीहरुसँग अन्तर्क्रिया र मध्य कमान्ड हेडक्वाटरको भ्रमण गर्ने कार्यक्रम तय भएको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया