बिहीबार, चैत १५, २०८०

ऋषिपञ्चमी : विचार, विमर्श र प्रश्न

डा. अरुणा उप्रेती २०७९ भदौ १६ गते ७:५३

जिसस क्राइस्ट कि आमा ‘मेरी’ कुमारी थिइन् अरे । परमेश्वरले जिससलाई मेरीको गर्भमा दिएका थिए भने किम्बदन्ती छ । हरेक धार्मिक किताबमा किम्बदन्ती धेरै हुन्छन् । किम्बदन्ती कथाको रुपमा पढेर आफ्नो पुरातन कुराहरु जान्न सकिन्छ, तर हजार-दुई हजार वर्षअघि लेखिएका र भनिएका कुरालाई अहिलेको जीवनमा पनि लागु गरिए त गाह्रो पर्ला नि ।

यस्तै महिनावारीको पनि अनेक कुरा/किम्बदन्ती छ । ‘भविष्योत्तर पुराणमा भनिएको छ भगवान इन्द्रले त्वष्टा ऋषिको छोरा वृत्तासुरलाई मारेपछि ब्रह्माजीले भगवान इन्द्रले गरेको पापलाई मोचन गर्न त्यो पापलाई चार ठाउँमा बाँडिदिए अरे ! जसअनुसार पहिलो पापको पूल्ठो अग्निको धूँवा मिश्रित ज्वालामा , दोश्रो नदिहरुमा बग्ने फींज भएको बर्षाको जलमा ,तेश्रो पहाड पर्वतमा भएका रुखमा उम्रिने एञ्जेरु तथा सेपमा बसेको ढुङ्गाको काइको रुपमा तथा चौथो नारीजातिहरुको रजस्वालाको रुपमा’ अरे । यो कुरा अहिले त मान्न सकिन्न नि ।

केही महिलाले पनि ‘महिनावारी रगत दूषित नै हो, यो बेलामा नकारात्मक ऊर्जा पैदा हुन्छ अरे,’ भन्ने जस्ता गलत धारणाले गर्दा हाम्रो पढाई र विचार अझै १८औं शताब्दीकै रहेको भान हुन्छ। पहिले-पहिले गायत्री मन्त्र देवीको प्रार्थनाको मन्त्र पनि महिलाले सुन्नु र पढ्नु हुँदैन, उनीहरू विटुला हुन्छन् भन्ने मानिन्थ्यो। तर समयसँगै महिलाले गायत्री मन्त्र सुन्न र पढ्न थाले। गायत्री मन्त्र कति जनाको मोबाइलमा नै छ, अहिले त। ठाउँ ठाउँमा बजिरहन्छ।

महिनावारीको बारे पनि त्यै कुरा लागु हुन्छ
महिलाको महिनावारीलाई ‘अपबित्र’ भन्नेले ‘कामक्षा’ देवीको महिनावारीलाई चाहिँ पवित्र मान्छन्। हरेक वर्ष असार महिनामा ४ दिनको लागि कामक्षा मन्दिरको ढोका बन्द हुन्छ। किनकि, ‘देवी’ रजश्वला भएकी हुन्छिन्। ४ दिन पछि देवीले ‘महिनावारी व्यवस्थापन गर्न प्रयोग गरेको कपडा’ चाहिँ प्रसादको रुपमा सबैलाई बाँडिन्छ।

नेपालमा अहिले ‘स्यानीटरी प्याड’ स्कुलमा बाँड्न लगाएर सरकारले सिद्ध गरिसकेको छ कि, नेपाल सरकारको नियमले महिनावारीलाई ‘पाप’ मान्दैन । अहिलेको युवा पुस्तामा पनि ‘महिनावारी’ सँग जोडिएको अधिकांश भ्रम हराएको छ।

तर अझै पनि महिलाको शरीरबाट जन्मिने पूजारी पनि महिलाको शरीर ‘अपवित्र’ को गीत गाउँछन् । उनीहरू हजारौं वर्ष अघिको संस्कृति सुन्दर थियो भनेर भन्छन्। तर हजारौं वर्षमा समाज कति परिवर्तन भइसक्यो भन्ने आत्मसात गर्न चाहन्नन् ।

धार्मिक गुरूहरू अहिले मोबाइल र फेसबुक प्रयोग गर्छन्, उनीहरू ‘पुरानो जमानामा मोबाइल थिएन। त्यसैले हामी प्रयोग नगनरौं’ भन्दैनन् । धार्मिक गुरूहरू आफ्ना लागि सहज हुने सबै नयाँ आविष्कारको प्रयोग गर्छन्, तर जब महिलाको स्वास्थ्य, उनको यौनिकता, प्रजनन र संस्कृतिको कुरा आउँछ, उनीहरू चाहन्छन् कि समाज कहिलै नबदलियोस्। २००० वर्ष अघिकै भइरहोस् ।

महिला शरीर र महिनावारी प्रजनन स्वास्थ्यसँग जोडिएको छ। तर धार्मिक ग्रन्थले यस्लाई पाप र फोहोर सँग जोडेको छ यसलाई फोहोरसँग जोडेको छ। किन हो बुझिनसक्नु छ। ‘महिलाहरुको महिनावारी हुनु भनेको पापहो र यो बेलामा महिलाले कुनै वस्तुलाई छोएको पाप पखाल्न पचंमीको बर्तबस्नुपर्छ’ भनेर सानै देखि सिकाइएकोले होला हिन्दु महिलाहरु पण्डितजीको भयको कारणले थर थरकाँप्दै पञ्चमीको व्रत बस्छन् ।

यदि महिनावारी हुनु भनेको पापहो भने त त्यही महिनावारीको रगतको कारणले जन्मेका पुरुषहरु र महिलाचाहिँ के भए त ?, किन कसैले यो प्रश्न न गरेका होलान् ? यदि महिनावारी पाप हो र फोहोर हो भने हामी सबै फोहोरी र पापी भएनौं त ?

प्रतिक्रिया