रतन थापा लगायतका नेताहरु एमाले परित्याग गरेर रेशम चौधरीको पार्टीमा प्रवेश

नेपालखोज २०७९ भदौ १६ गते १५:२९

कैलाली । नेकपा (एमाले) परित्याग गरी सुदुरपश्चिम प्रदेशका सांसद रतन थापालगायतका विभिन्न पार्टीका १७ जना प्रभावशाली नेताहरु नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेका छन् ।

नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेका थापा एमाले कैलालीका पूर्व अध्यक्ष तथा प्रदेशसभा सदस्य हुन् । यस्तै, सांसद परियार चौधरी, सुदुरपश्चिम प्रदेशका निवर्तमान सांसद हिमाञ्चलराज भट्टराई, नेताहरु डा.प्रदीप भट्टराई, तेजराम चौधरी, नेपाल समाजवादी पार्टी केन्द्रीय सदस्यहरु राजेन्द्र देवकोटा, राजाराम चौधरी, लक्ष्मीराम चौधरीलगायत रेशम चौधरीको नेतृत्वमा रहेको पार्टीमा प्रवेश गरेका हुन् ।

आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित पार्टी प्रवेश कार्यक्रममार्फत उनीहरुलाई पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले खादा, र अविर लगाएर पार्टीमा स्वागत गरेकी हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै नवप्रवेशी रतन थापाले जनताको भाग्य र भविष्य निर्माण गर्ने आशाले आफूले एमालेमा २२ वर्ष बिताएको भएपनि एमालेले देश र जनताको राम्रो काम गर्न नसकेको गुनासो पोखेका छन् । एमालेकै विभिन्न कारणले पार्टी छाड्न बाध्य भएको सुनाउँदै उनले जनताको सेवा जुनसुकै पार्टीमा बसेर गर्न सकिने उल्लेख गर्दै आफू जनताकै सेवाको लागि नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेको स्पष्ट पारे ।

उनले एमालेमा धनाढ्य व्यक्ति आए अहिले नै नेता बन्ने र निर्वाचनको टिकट पाइहाल्ने अवस्था रहेको भन्ने आरोप लगाए । आफुले पार्टीमा भ्रष्टाचारीलाई टिकट नदिन सल्लाह दिएको स्मरण गराउँदै उनले आफुलाई उल्टै निश्काषन गर्न खोजिएको गुनासो गरे । उनले भने,‘पार्टीमा भ्रष्टाचारीहरुलाई टिकट नदिनु भनेकोले ममाथि अन्तर्घातको ट्याग लगाइयो ।’
टिकापुर घट्नाको विषयमा बोल्दै उनले उक्त घट्नामा संलग्न नै नभएको व्यक्तिलाई दोषी बनाइएको पनि दाबी गरे । आफूले पार्टीबाट एक पैसा नकमाएको उल्लेख गर्दै उनले कसैले एक रुपैयाँ लिएको छस भनेर भनेमा त्यसमा च्यालेन्ज गर्न तयार रहेको सुनाए । एमालेमा करोडौं रुपैयाँ दिएको तर एक रुपैयाँ पनि नलिएको उनले स्पष्ट पारे । पार्टीमा लिन नभई आफु दिन गएको उनको भनाइ थियो ।

उनले पार्टी नछाड्न एमाले नेतृाहरुको फोन आइरहेको सुनाउँदै अब एमालेमा फिर्ता हुन नसक्ने स्पष्ट पारे । उनले भने,‘अब एमालेमा टिक्न सक्दिनँ भनेर मेरो मनले भनिसकेको छ, छातीमा गोली लाइसकेको, अन्तघाती गोली खाएर रोग बोकेजस्तो रोग बोक्न चाहान्नँ म ।’ उनले नागरिक उन्मुक्ति पार्टी इमान्दार, स्वच्छता र सेवामा १ नम्बरमा आउने दाबी गरे ।
यसैगरी, सांसद कैया चौधरीले रेशम चौधरीलाई सानैदेखि तिक्ष्ण बुद्धि भएको व्यक्तिव्यको रुपमा चित्रण गरेका छन् । रेशमलाई पारिवारिक नाताले नाती पर्ने भन्दै सांसद चौधरीले निकै मार्मिक भनाइहरु पनि स्मरण गराए । उनले भने,‘रेशमले मलाई भन्नुभयो, आज तपाईंको छत्रछायाँमा नबसेको कारण म खोरमा पुगें ।’ पार्टीको संरक्षण तपाईंबाटै हुनुपर्ने भन्दै आफुलाई रेशमले आफ्नो पार्टीमा आउन पटक–पटक आग्रह गरेको सुनाए ।

प्रतिक्रिया