‘जलवायु संकटकाल घोषणा गरेर विश्वको ध्यानाकर्षण गराउछौं’

काठमाडौं । वन तथा वातावरणमन्त्री प्रदीप यादवले नेपाललाई ‘जलवायु संकटकाल’ घोषणा गरेर विश्वको ध्यान तान्ने तयारी भइरहेको बताएका छन् । आज यहाँ आयोजित एक कार्यक्रममा मन्त्री यादवले जलवायु परिवर्तनको उच्च जोखिममा रहेकाले नेपाललाई जलवायु संकटकाल घोषणा गर्ने गरी तयारी भइरहेको बताएका छन् ।
उनले भने, ‘जलवायु परिवर्तनका असर सबैतिर देखिने गरी पर्न थालेको छ । नेपालका हिमाल, कृषि, पानीका स्रोतलगायतका क्षेत्रमा जलवायु परिवर्तनको असर परिरहेको छ । नेपालमा जलवायु सङ्टकालको घोषणा गरी विश्वको ध्यानाकर्षण गर्नुपर्ने बेला भएको छ । हामी यसको तयारीमा छौँ ।’ यसैगरी मन्त्री यादवले उक्त विषयमा सबै सरोकारवाला निकाय र विज्ञसँग छलफल गरेर नेपाल जलवायु संकटमा पुगेको घोषणा गरिने जानकारी पनि दिए ।
उनले संकटकाल घोषणाका लागि मन्त्रालयले यसको ‘मोडालिटी’ खोज्ने तयारी थालेको पनि बताए । उनले भने, ‘जलवायु संकटकाल र जलवायु संकट घोषणा गरिरहँदा तथ्यमा आधारित प्रमाण चाहिने भएकाले सोहीअनुसार हामी आगाडि बढिरहेका छौँ ।’
जलवायु परिवर्तन भइरहेको र यसका कारण उत्पन्न समस्या एवं असरका बारेमा सबै जानकार नै रहे पनि जलवायु संकट तथा संकटकाल घोषणा गर्न के कसरी मिल्छ भन्ने सम्बन्धमा अध्ययन भइरहेको उनको भनाइ थियो । उहाँले यसै विषयमा केन्द्रित रहेर मन्त्रालयले गृहकार्य थालेको जानकारी दिए ।

प्रतिक्रिया