शनिबार, जेठ ५, २०८१

नेप्सेमा गिरावट, एक अर्ब १९ करोडको सेयर किनबेच

नेपालखोज २०७९ भदौ २१ गते १५:५३

काठमाडौं । नेप्सेको गिरावटले साताको तेस्र्रो कारोबार दिन मंगलबार पनि निरन्तरता पाएको छ । अघिल्लो दिन चार दशमलव २९ अंकले घटेको नेप्से आज (मंगलबार) भने २१ दशमलव २२ अंकले घटेर १९ सय ५१ दशमलव ७९ अंकमा झरेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ८९ अंकले घटेर तीन सय ७९ दशमलव पाँच अंकमा झरेको छ ।

दुई सय २७ वटा कम्पनीहरुको २४ हजार ६ सय २२ पटकको कारोबारमा ३२ लाख नौ हजार नौ सय ८३ कित्ता सेयर खरिद- बिक्री भएकोमा कुल कारोबार रकम एक अर्ब १९ करोड सात लाख ६५ हजार छ सय १३ रुपैयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड नेप्सेमा यसदिन १३ वटा समूहको कारोबार भएकोमा सामूहिक लगानी कोष समूहको सूचक झिनो अंकले बढेर बाँकी समूहको सूचक घटेका छन् । सोमध्ये वाणिज्य बैंक समूहको सूचक सात दशमलव ६ अंकले घटेर १३ सय २० दशमलव १३ अंकमा झरेको छ । विकास बैंक समूहको सूचक ६४ दशमलव ८९ अंकले घटेर तीन हजार चार सय ८९ दशमलव २० अंकमा झरेको छ ।

जलबिद्युत समूहको सूचक पनि ४६ दशमलव ६३ अंकले घटेर २२ सय २३ दशमलव ३३ अंकमा झरेको छ । निर्जिवन बिमा समूहको सूचक पनि एक सय ४७ दशमलव नौ अंकले घटेर सात हजार नौ सय ३३ दशमलव २३ अंकमा झरेको छ । जीवन बिमा समूहकोे सूचक पनि ८५ दशमलव ६४ अंंकले घटेर नौ हजार दुई सय ३३ दशमलव ७९ अंकमा झरेकोमा फाईनान्स, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुवित्त र लगानी समूहको सूचक पनि घटेका छन् ।

नेप्सेमा मंगलबार उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य नौ दशमलव ६८ प्रतिशतले बढेर एक हजार ४२ रुपैयाँ अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा सानिमामाई हाइड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य सात दशमलव ३२ प्रतिशतले घटेर दुई सय ९१ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता चार सय २२ रुपैयाँ ९० पैसा अन्तिम मूल्यमा नौ करोड १४ लाख १८ हजार सात सय २६ रुपैयाँको सेयर किनबेच भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया