‘सबैको अस्तित्व स्वीकार हुने गरी सिट बाँडफाँड हुन्छ’

कैलाली । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबैको अस्तित्व स्वीकार हुनेगरी सिट बाँडफाँट हुने बताएका छन् । आज धनगढी विमानस्थलमा उनले गठबन्धनमा मागेअनुसार सिट भाग नपरे पनि सबैको अस्तित्व स्वीकार हुनेगरी सिट बाँडफाँट हुने बताएका हुन् ।
अध्यक्ष प्रचण्डले बुधबारभित्र सिट बाँडफाँट टुंगो लगाउने गरी छलफल भइरहेको बताए । उनले भने, ‘सिट बाँडफाँटमा समस्या हुँदैन ।’ ‘नेपाली कांग्रेसले एक सय, माओवादीले ६०, एकीकृत समाजवादीले २५ र जनता समाजवादीले २५ सिट दाबी गरेको छ,’ उनले भने, ‘दाबी अनुसार कांग्रेस केही तल झर्ने सम्भावना रहेको छ र माओवादी ६०, समाजवादीले २५ सिट र जनता समाजवादीले २५ सिटको वरिपरी दाबी गरिरहेको छ ।’
सत्ता गठबन्धनले प्रभावकारी तालमेल गरेरै निर्वाचनमा जाने अध्यक्ष प्रचण्डको भनाइ छ । निर्वाचनपछि बन्ने नयाँ सरकारले मुलकुलाई नयाँ गतिमा अघि बढाउने उनले बताए । संसद् लम्ब्याउने कुरा पनि आइरहेको छ । अध्यक्ष प्रचण्डले भने ‘संसद् लम्ब्याउन हुँदैन भन्ने कुरामा हामी स्पष्ट छौँ, अस्ति हामीले गठबन्धनको बैठकमा नै एक दिन पनि यताउता गर्न हुँदैन र मङ्सिर ४ मा नै निर्वाचन हुन्छ, मनोनयनपछि संसद् नरहने हामीले भनी सकेका छौँ ।’
एक फरक प्रसगंमा उनले आफ्नो नाम विभिन्न क्षेत्रबाट सिफारिस भए पनि चितवन क्षेत्र ३ बाटै उठ्ने स्पष्ट पारे ।

प्रतिक्रिया