सुदूरपश्चिमका जिल्लाहरूमा फैलँदै डेङ्गु सङ्क्रमण

नेपालखोज २०७९ भदौ २३ गते १५:१६

सुदूरपश्चिम । गत जेठ महिनायता सुदूरपश्चिम प्रदेशका जिल्लाहरूमा डेङ्गु रोगको सङ्क्रमण बढ्दै गएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयकाअनुसार गत जेठयता सुदूरपश्चिममा प्रादेशिक र जिल्ला अस्पतालमा मात्रै एक सय ६१ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

‘डेङ्गुको सङ्क्रमण पहाडसँगै तराईका जिल्लामा सबैतिर देखिन थालेको छ’, सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कार्यक्रम सम्पर्क व्यक्ति हेमराज जोशीले भने, ‘इवारस् रिपोर्टिङ विधिबाट जिल्ला अस्पतालसम्मको तथ्याङ्क सङ्कलन हुने गरेको छ ।’ उनले पालिका र प्राथमिक स्वास्थ्य केन्द्रस्तरसम्मको डेङ्गु रोगको बिरामीको तथ्याङ्क अझ बढी रहे पनि सङ्कलन हुन नसकेको बताए ।

त्यसैगरी सुदूरपश्चिम प्रदेश सरकार र स्वास्थ्य निर्देशनालयले डेङ्गु सङ्क्रमण नियनत्रणमा खटिएका चिकित्सकसहित कर्मचारीलाई आवश्यक प्रशिक्षण दिनुका साथै जाँचका लागि किट उपलब्धलगायतका कार्य गरिरहेको छ ।

‘सङ्घको सशर्त अनुदानअनुसार डेङ्गु को लार्भा नष्ट गर्न पालिकास्तरमा बजेट आएको छ’, उनले भने, ‘ विभिन्न पालिकाले सो अभियान सञ्चालन गरिरहेका छन् ।’ त्यसैगरी गर्मी क्षेत्रमा हुने डेङ्गुको सङ्क्रमण यहाँका पहाडी जिल्लामा समेत देखिन थालेको छ ।

निर्देशनालयको तथ्याङ्कानुसार कैलालीमा ४१, कञ्चनपुरमा ३२, डोटीमा १४, अछाममा सात, डडेल्धुरा र बैतडीमा नौ–नौ, दार्चुलामा ३३, बझाङ र बाजुरामा आठ–आठ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । निर्देशानालयका अनुसार डेङ्गु सङ्क्रमण नियन्त्रणका लागि नागरिकहरु पनि स्वयं जिम्मेवार हुनुपर्ने छ । ‘असोज अन्तिमपछि सङ्क्रमण कम हुँदै जान्छ’, उनले भने , ‘लामाखुट्टे नष्ट गर्ने अभियान सञ्जालन गर्नुपर्छ ।’ – रासस

प्रतिक्रिया