शनिबार, जेठ ५, २०८१

नेप्सेमा सामान्य गिरावट !

नेपालखोज २०७९ भदौ २३ गते १५:४६

काठमाडौं । साताको पाँचौं कारोबार दिन आज नेप्से घटेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ । अघिल्लो दिन ११ दशमलव ९७ अंकले घटेको नेप्से आज (बिहीबार) पुन: दुई दशमलव १३ अंकले घटेर १९ सय ३७ दशमलव ७४ अंकमा झरेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ५४ अंकले घटेर तीन सय ७६ दशमलव ८४ अंकमा झरेको छ ।

नेप्सेमा बिहीबार दुई सय २७ वटा कम्पनीहरुको २२ हजार एक सय ७५ पटकको कारोबारमा ३४ लाख एक हजार छ सय ९२ कित्ता सेयर खरिद-बिक्री हुंदा कुल कारोबार रकम एक अर्ब चार करोड ४३ लाख ७९ हजार ६ सय रुपैयाँ पुगेको छ । यो कारोबार रकम अघिल्लो दिनको तुलनामा बढी हो । अघिल्लो दिन यस्तो कारोबार रकम ८२ करोड ६२ लाख रुपैयाँमा सिमित रहेको थियो ।

नेप्सेमा आज १३ वटा समूहको कारोबार भएकोमा ६ वटा समूहको सूचक बढेर सातवटा समूहको सूचक घटेका छन् । तिमध्ये वाणिज्य बैंक समूहको सूचक चार दशमलव ६ अंकले घटेर १३ सय १० दशमलव ९१ अंकमा झरेकोमा जीवन बिमा समूहको सूचक पनि २४ दशमलव ८२ अंकले घटेर नौ हजार एक सय ७२ दशमलव ७३ अंकमा झरेको छ । यिबाहेक ट्रेडिङ, उत्पादनमुलक, अन्य, लघुवित्त र सामूहिक लगानी कोष समूहको सूचकहरु पनि घटेका छन् ।

विकास बैंक समूहको सूचक भने ३७ दशमलव १३ अंकले बढेर ३४ सय ८९ दशमलव नौ अंकमा चढेकोमा जलबिद्युत समूहको सूचक पनि १३ दशमलव ७८ अंकले बढेर २२ सय १४ दशमलव ७८ अंकमा चढेको छ । निर्जिवन बिमा समूहको सूचक पनि एक दशमलव ७१ अंकले बढेर सात हजार नौ सय एक दशमलव पाँच अंकमा चढेकोमा फाईनान्स, होटल तथा पर्यटन र लगानी समूहको सूचक पनि बढेका छन् ।

नेप्सेमा बिहीबार ग्लोवल आईएमई लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य चार दशमलव ४९ प्रतिशतले बढेर १२ सय ८० रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा सामूदायिक लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य ६ दशमलव ४९ प्रतिशतले घटेर १४ सय ११ रुपैयाँ २० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी आज हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता चार सय ११ रुपैयाँ ९० पैसा अन्तिम मुल्यमा १३ करोड १० लाख ४५ हजार तीन सय ६५ रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया