वीपी कोइरालामा राष्ट्र, प्रजातन्त्र र समाजको चिन्ता थियो : पूर्वराष्ट्रपति यादव

नेपालखोज २०७९ भदौ २३ गते १७:१५

काठमाडौ‌ । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले विश्वेश्वरप्रसाद कोइराला (वीपी) मा राष्ट्र, प्रजातन्त्र र समाजको चिन्ता भएको बताएका छन् ।

जननायक वीपी कोइरालाको १०९ औँ जन्मजयन्तीका अवसरमा वीपी कोइराला स्मृति ट्रष्टले आज आयोजना गरेको ‘वीपी साहित्य सम्मान एवं वीपी सेनानी सम्मान तथा कृति लोकार्पण’ कार्यक्रममा उनले वीपी कोइरालाले नेपाली समाजलाई राम्रोसँग बुझेको बताए ।

‘विपी कोइरालाले विसं २००८ सालदेखि २०१४ सालसम्म देशका सबै भू–भागमा पुगेर त्यहाँको भूगोल, आर्थिक तथा सामाजिक अवस्था बुझ्नुभएको थियो, अहिले मुलुकमा देश, जनता र भूगोल बुझ्ने नेता छैनन्’, उनले भने । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा शशाङ्क कोइरालाप्रति लक्षित गर्दै डा यादवले भने, ‘तपाईं पार्टीको महामन्त्री भइसक्नुभयो, तपाईं सारा देश घुम्नुहोस्, तपाईंको भविष्य छ ।’

पूर्वराष्ट्रपति डा यादवले विपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, सुवर्णशम्शेर राणा, गिरिजाप्रसाद कोइरालालगायतका नेताले मुलुकमा गरेको सङ्घर्ष र योगदानका कारण आफू गणतन्त्र नेपालको प्रथम राष्ट्रपति बन्ने अवसर पाएको स्मरण गरे । – रासस

प्रतिक्रिया