कनकाईमा ‘मास लाइट’

झापा । झापाको कनकाईमा ‘मास लाइट’ जडान धमाधम भइरहेको छ । नेपाल विद्युत् प्राधिकरण र कनकाई नगरपालिकाको सहकार्यमा मास लाइट जडान गर्न लागिएको हो ।
नगरप्रमुख राजेन्द्र पोखरेलका अनुसार दुई करोड ६० लाख रुपैयाँको लागतमा चारवटा मास लाइट तथा एक सय स्मार्ट लाइट जडान गरिँदै छ । उक्त कार्यका लागि नगरपालिकाले ६० तथा प्राधिकरणले ४० प्रतिशत लगानी गरेको छ । एउटा मास लाइट जडान गर्न १६ लाख रुपैयाँ खर्च हुने उनले बताए । हाल कनकाई नगरपालिकाको कोटीहवन, सुरुंगा, दुर्गापुर र लक्ष्मीपुरमा मास लाइट जडान भइरहेको छ ।
‘दुई स्थानमा जडान भइसकेको छ,’ पोखरेलले भने, ‘थप दुई स्थानमा जडान जारी छ ।’ सोह्र मिटर अग्लो पोलमा जडान गरिने वचालित मास लाइटले एक सय मिटर वरपरसम्म उज्यालो दिन्छ । भरतपुर, पोखरालगायत सहरमा मात्र जडान गरिएको मास लाइट प्रदेश १ मै पहिलोपटक कनकाईमा जडान गर्न लागिएको उनको भनाइ छ ।
हाल बजार र संवेदनशील क्षेत्रलाई लक्षित गरी जडान गरिएको मास लाइटले बजार क्षेत्रमा हुने चोरीडकैतीलगायत विभिन्न आपराधिक घटनामा कमी आउनुका साथै व्यापारिक क्षेत्रमा समेत मद्दत पुग्ने नगरपालिकाको विश्वास छ । नगरपालिकाले नगर क्षेत्रमा सिसीक्यामेरासमेत जडान गर्ने योजना बनाएको छ । -रासस

प्रतिक्रिया