प्रचण्डले भने- ‘राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरे राजीनामा दिनुपर्छ’

नेपालखोज २०७९ भदौ २४ गते १०:४७
फाइल तस्बिर ।

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक दोस्रोपटक पनि प्रमाणीकरण नगरे पदबाट राजीनामा दिनुपर्ने बताएका छन् । उनले राष्ट्रपतिबाट विधेयक प्रमाणीकरण हुनेमा आशंकासमेत जनाएका छन् ।

पोखरामा शुक्रबार सञ्चारकर्मीसँगको अन्तर्क्रियामा उनले दोस्रोपटक दुवै सदनबाट पारित भएर गएको विधेयकलाई राष्ट्रपतिले रोक्ने कुनै ठाउँ संविधानले नदिएको बताए । यदि राष्ट्रपतिले विधेयक प्रमाणीकरण नगरी रोकेमा यो विषय अदालतमा जाने वा राष्ट्रपतिले राजीनामा दिनपर्ने उनको भनाइ छ ।

उनले भने, ‘मलाई त प्रमाणीकरण गर्नुहुन्छ भन्ने नै लाग्छ । तर केही दिनअघि भेटेर कुरा गर्दा उहाँले यसलाई पोलिटिकल इस्यु बनाउने मुडमा रहेको पाएको थिएँ । त्यसैले नगर्ने सम्भावना पनि छ । गर्नुभएन भने यो इस्यू अदालतमा जान्छ र अदालतको फैसलापछि अगाडि बढ्छ ।’

प्रचण्डले विधेयक प्रमाणीकरण नगरे राष्ट्रपतिले राजीनामा दिनुपर्ने उल्लेख गरे । ‘मैले राष्ट्रपतिलाई पनि भनेको थिएँ । प्रमाणीकरण नगरेको अवस्थामा या त राजीनामा दिने वा अदालतमा जाने हो । यो दुईवटा हुन सक्छ,’ उनले भने ।

प्रतिक्रिया