‘राज्यको नीतिले युवाहरु ठूलो मारमा परे’

नेपालखोज २०७९ भदौ २५ गते १६:३५

काठमाडौं । संयुक्त भूतपूर्व सैनिक एवं प्रहरी कल्याणकारी महासंघ नेपालले भारतीय सेनाको अग्निपथ योजनाअन्तर्गत नेपाली युवाहरुलाई भर्तिको व्यवस्था चाँडो भन्दा चाँडो मिलाउनुपर्ने माग गरेको छ । आज रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।

महासंघ नेपालका अध्यक्ष कर्नल धनबहादुर थापाले भारतीय सेनाको अग्निपथ योजनामा नेपाली युवाहरुको सहभागिताको बारेमा सरकारले देखाएको मौनताले भारतीय सेनामा जान चाहने धेरै युवाहरुको चाहनालाई कुठाराघात गरेको टिप्पणी गरेका छन् । उनले राज्यले आफ्नो हितमा भएको कुरा किन लागु नगरेको भन्दै गुनासो पोखे ।

राज्यले लिएको नीतिको कारण नेपाली युवाहरु ठूलो मारमा परेको उनको भनाई छ । महासंघ नेपालले सन् १९४७ मा नेपाल, भारत र बेलायत सरकारबीच भएको त्रिपक्षीय सन्धीअनुरुप हालसम्म भारतीय सेनामा रहेको गोरखा सैनिकमाथि कुनै प्रकारको विभेद नरहेको पनि स्पष्ट पारेको छ ।

यस्तै, महासंघ नेपालले भारतले आफ्नो सेना सुदृढीकरण योजनाअन्तर्गत ल्याएको अग्निपथ योजना कुनै जाति, धर्म, क्षेत्रविशेष या गोरखा भर्तीमा मात्र केन्द्रित नभई सम्पूर्ण देशभरिन नै लागु हुने भारतको सदन र सरकारले पास गरेको राष्टिय योजना भएको जनाएको छ।

प्रतिक्रिया