‘नेपाली भूमि छिमेकीकाविरुद्ध प्रयोग हुन दिदैनाैँ’

नेपालखोज २०७९ भदौ २८ गते १४:३२

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रणनीतिक विकास साझेदारीमार्फत नेपालका प्राथमिकता क्षेत्रका ठूला परियोजनामा आवश्यक लगानी भित्र्याउन चिनियाँ पक्षसँग आग्रह गरेका छन् ।

नेपाल भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकङ्ग्रेस स्थायी समितिका अध्यक्ष लि चान्शु नेतृत्वको प्रतिनिधिमण्डलसँग आज सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा भएको भेटवार्ता अध्यक्ष दाहालले नेपालको विकास र समृद्धिका लागि चिनियाँ पक्षको सहयोग आवश्यक रहेको बताएका हुन् ।

अध्यक्ष दाहालले बीआरआईलगायतका परियोजनामार्फत भइरहेका आयोजनाको शीघ्र कार्यान्वयनको वातावरण बनाउनुपर्ने कुरामा पनि जोड दिनुभएको उनको सचिवालयले जनाएको छ ।

सो अवसरमा उनले नेपालमा दसैँ, तिहारलगायतका चाडपर्व सुरु भएकाले तातोपानी, रसुवागढीसहितका नाका तत्काल खोल्न आग्रह गरेका थिए । उनले नेपाल र चीनबीच बढ्दै गएको व्यापार असन्तुलनलाई सन्तुलनमा ल्याउन चीनले उदारतापूर्वक काम गर्नुपर्ने उल्लेख गरेका थिए ।

दुई पार्टीबीचको सम्बन्ध कूटनीतिक मात्र नभई वैचारिक र भावनात्मक विषय पनि भएको अध्यक्ष दाहालको भनाइ थियो । ‘हामी चिनियाँ कम्युनिष्ट पार्टीको २० औँ राष्ट्रिय महाधिवेशनको सफलताको शुभकामना व्यक्त गर्न चाहन्छौँ । राष्ट्रपति सीजिङपिङको बलियो नेतृत्वमा चिनियाँ विशेषतासहितको समाजवाद निर्माण गर्न र विश्व भ्रातृत्वको विकासका लागि महाधिवेशन सफल बनोस्’, अध्यक्ष दाहालको भनाइ थियो ।

उनले नेपाल ‘एक चीन नीति’प्रति दृढ रहेको उल्लेख गर्दै नेपाली भूमि कुनै पनि छिमेकीका विरुद्ध प्रयोग हुन नदिनेमा सजग रहेको बताए । चिनियाँ पक्षकोतर्फबाट अध्यक्ष ली ले नेपाल चीनको असल मित्र रहेको उल्लेख गर्दै नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता र सार्वभौमिकताको सधैँ सम्मान गर्ने बताए । उनले नेपाल एक चीन नीति र चीनको सुरक्षा चासोमा सदैव सकारात्मक रहेकामा धन्यवाद व्यक्त गरेका थिए ।

प्रतिक्रिया