व्यवसायीलाई आकर्षित गर्दै ड्रागन फल

नेपालखोज २०७९ भदौ २९ गते ७:४७

रामपुर । तानसेन नगरपालिका–७ बारुदखान बस्ने सन्दीप अधिकारीको बारीमा ड्रागन फलका करिब दुई सय बोट छन् । ती बोटमध्ये केही उत्पादन दिँदैछन् त केही फुल्दैछन् । गत वर्ष लगाएको बिरुवाले एक वर्षमा नै राम्रो उत्पादन दिएको छ ।

हेर्दा बोट हरियाली, उत्पादित फल स्वादिलो र आम्दानी पनि राम्रो भएपछि यसमा धेरै किसानको आकर्षण बढेको छ । उनी भन्छन, ‘पहिलो वर्षमा नै राम्रो फल लाग्यो, स्याहारसुसार संरक्षणमा धेरै ध्यान दिनुपर्ने रहेछ, बजारमा यसको माग राम्रो देखेर नयाँ खेती थालनी गरेको हो, परीक्षणमा नै राम्रो उत्पादन दियो ।’ फल उत्पादन मात्र नगरी आफैँले नर्सरीमा बिरुवा तयार गरेर बेच्ने बेच्छन् । फलसँगै बिरुवा बिक्रीबाट राम्रै फाइदा गर्न सकिने उनी बताउँछन् । ललितपुरबाट ल्याएर आफैँले घरमा बिरुवा बनाएर उनले खेती सुरु गरेका हुन् ।

उनले ड्रागनखेतीलाई व्यावसायिकरुपमा थालनी गरेपछि तानसेन नगरपालिकाबाट गत आर्थिक वर्षमा १२० बिरुवा खरिदमा अनुदान र संरचना तयार पार्न एक लाख रूपैयाँ रकम अनुदान प्राप्त गरेका छन् ।

यस व्यवसायसँगै उनले लहरे आँपको पनि खेती गरिरहेका छन् । खाली भएका र ड्रागन फल लगाएका जग्गा वरपरको जमिन सदुपयोग गर्दै ४३ बोट लहरे जातको आँप लगाएर बारी हराभरा बनाएका छन् । स्थायी संरचना तयार पारिएकाले अब ड्रागन फललाई यथावत नै खेती गर्ने, लहरे आँपलाई विस्तार गर्ने सोच बनाएका छन् ।

तिनाउँ गाउँपालिका–१ कचलका टेकबहादुर रासकोटीले १४ महिनाअघि दाङ र सुनसरीबाट बिरुवा ल्याएर ड्रागनको व्यावसायिक तरिकाबाट खेती गरेका छन् । करिब एक हजार पाँच सय बोट लगाएका उनले चौथो पटकको उत्पादन बिक्री गरिसकेका छन् । ‘बिरुवा को स्याहारसुसार राम्रो गरियो भने छिटो उत्पादन लिन पाइने रहेछ, मेहनत गरे अनुसारको उत्पादन भइरहेको छ, ११ महिनाभित्रमा नै मैले उत्पादन लिन सुरु गरेको हुँ, बजार सहज भएकाले बिक्री कसरी गर्ने भन्ने पिरलो छैन, ‘उनले भने ।

ठण्डीको समयमा रोगले आक्रमण गर्दा रेखदेखमा बढी ध्यान दिनुपर्दछ, विशेषगरी मङ्सीर, पुस, माघ तीन महिना बिरुवा लाई जोगाउनुपर्ने, यो समयमा कालो ढुसी नामक रोगले बढी सताउने हुँदा अन्य समय सामान्य रेखदेख नियमित गरियो भने राम्रो उत्पादन हुने उनको अनुभव छ ।

व्यवसाय विस्तार गर्न रहर छ तर मलजलको व्यवस्थापनमा समस्या रहेको उनी बताउँछन् । करिब १५ वर्ष डोजर अपरेटरमा काम गरेका रासकोटीको अहिलेको दिनचर्या ड्रागन फलको रेखदेखमै बितेको छ । जागिरे जीवनमा महिना सकिएपछि तलव बुझ्ने गर्नुभएका उनी कृषिमा लाभ लिन समय पर्खनुपर्ने बताउँछन् । परिवारको साथमा गाउँका जग्गा सदुपयोग गर्दै खेती गर्दा सन्तुष्ट भएको बताए ।

उनले यस व्यवसायमा करिब आठ लाख रूपैयाँ लगानी गरेका छन् । गाउँपालिकाले नर्सरी व्यवस्थापनमा केही अनुदान सहयोग गरेको छ । कङ्क्रिट र फलामको स्थायी संरचना तयार पारिएकाले पूर्वाधारमा अब धेरै लगानी गर्नु नपर्ने उनको भनाइ छ । स्थायी संरचना लामो समयसम्म कायम रहने हुँदा उत्पादित वस्तुबाट राम्रो फाइदा लिने बताए ।

भारतीय सेनाबाट अवकाश प्राप्त माथागढी गाउँपालिका–१ फेदीका सोमबहादुर आलेलाई ड्रागनको रेखदेख गर्दा समय बितेको पत्तै हुँदैन । पच्चीस वर्षसम्म भारतीय सेनामा जीवन बिताएका आले आफ्नै गाउँमा बसेर कृषि कार्य गर्दा झन् फूर्तिलो हुँदै गएका छन् ।

डेढ वर्षअघि खेती सुरु गरेका आलेले राम्रो धान फल्ने खेतमा छ सय बिरुवा लगाएका छन् । उत्पादनका हिसावले धानबालीको तुलनामा यसबाट दोब्बर बढी फाइदा लिन सकिने उनको अनुभव छ । उत्पादित फल स्थानीय बजारका अलवा तानसेन, आर्यभञ्ज्याङ लगायतका बजारमा धमाधम बिक्री भइरहेको छ । अहिलेसम्म तीन टनजति फल बिक्री गरिसकेका छन् । -रासस

प्रतिक्रिया