राष्ट्रपति भण्डारीसँग अध्यक्ष लीको भेटवार्ता, द्विपक्षीय हितका विषयमा छलफल

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुले शिष्टाचार भेटवार्ता भएकाे छ । राष्ट्रपतिको कार्यालयमा आज अपराह्न भएको प्रतिनिधिमण्डलस्तरीय भेटवार्तामा उनीहरुबीच द्विपक्षीय आपसी हितका विविध विषयमा कुराकानी भएको थियो ।
सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको चार दिने औपचारिक भ्रमणमा क्रममा अध्यक्ष ली सोमबार विशेष विमानबाट काठमाडौँ आएकाे हाे । भेटमा राष्ट्रपति भण्डारीले दुई देशबीचको परम्परागत मित्रवत् सम्बन्धका बारेमा चर्चा गर्दै यस्ता उच्चस्तरीय भेटवार्ताले सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गरेका थिए ।
सो अवसरमा अध्यक्ष लीले यस अघि सन् २०१९ अक्टोबरमा चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका क्रममा भएका सहमति सम्झौता कार्यान्वयन गर्ने आफ्नो लक्ष्य भएको बताएका थिए । राष्ट्रपति सीको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्ध थप सुदृढ भएको उनको भनाइ थियो ।
भेटवार्तामा अध्यक्ष लीले राजनीतिक पारस्परिक विश्वास अझ सुदृढ गर्नु र विविध क्षेत्रका सहाकर्यलाई गहन बनाउनु आफ्नो भ्रमणको उद्देश्य रहेको बताएकाे परराष्ट्र मन्त्रालयले जनाएको छ । उनले नेपालको संविधान दिवसका अवसरमा शुभकामना दिएका थिए ।
यसैगरी आज बिहान चिनियाँ नेता ली नेतृत्वको प्रतिनिधिमण्डलले भक्तपुर दरबार क्षेत्रमा भूकम्पपछिको पुनःनिर्माण परियोजनाको अवलोकन र निरीक्षण तथा स्थानीय कला संस्कृतिको अवलोकन गरेको थियो ।
भ्रमणको पहिलो दिन सोमबार सभामुख सापकोटा र अध्यक्ष लीले संसद् भवन नयाँ बानेश्वरमा संसदीय प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गरी सहयोगसम्बन्धी छ बुँदे सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । – रासस

प्रतिक्रिया