मंगलबार, पुष ८, २०८२

दक्षिण कोरियाको सिओलमा ग्लोबल आइएमई बैंकले शाखा संचालन गर्ने

नेपालखोज २०७९ भदौ ३० गते १२:११

काठमाडौं । नेपालमा लगानी गर्न दक्षिण कोरिया सरकार, निजी क्षेत्र र त्यहाँ रहेका नेपालीहरुलाई आग्रह गर्दै ग्लोबल आइएमई बैंक लिमिटेड र ग्लोबल मनि एक्सप्रेसले दक्षिण कोरियाको राजधानी सिओलमा अन्तर्रक्रिया कार्यक्रम समापन भएकाे छ ।

कार्यक्रममा ग्लोबल आइएमई बैंकले दक्षिण कोरियाको राजधानी सिओलमा शाखा सञ्चालन गर्न प्रक्रिया अगाडि बढाएको बताउँदै नेपाली बैंकमा विदेशी मुद्रामा खाता सञ्चालन नेपालीहरुलाई आग्रह समेत गरिएको थियो । उक्त कार्यक्रममा बोल्दै अर्थमन्त्री जनार्दन शर्माले विदेशी मुद्रा सञ्चिति घटेको अहिलेको समयमा मुलुकको अर्थतन्त्र बचाउन प्रत्यक्ष वैदेशिक लगानी र रेमिट्यान्सको अत्यन्तै ठूलो महत्व रहेको बताएका छन् ।

अर्थमन्त्री शर्माले कोरियामा रहेका गैर आवासीय नेपालीहरुलाई नेपालमा लगानी गर्न र वैदेशिक लगानी भित्र्याउन सहजीकरण गर्न आग्रह गरेका छन् । ‘मुलुकमा अहिले विदेशी मुद्राको सञ्चिति घटेको छ । बैंक तथा वित्तीय क्षेत्रमा लगानी योग्य पुँजीको अभाव रहेको छ ।

अहिलेको यस विषम परिस्थितिमा नेपालमा विदेशी लगानी भित्र्याउन र नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोली औपचारिक बैंकिङ्ग प्रणालीबाट रेमिट्यान्स भित्र्याउन तपाईहरुले सहजीकरण गर्नुपर्यो,’ उनले भने । द्रूत आर्थिक विकास र सम्मृद्धिको लागि नेपाललाई स्वदेशी पुँजीका साथसाथै ठूलो मात्रामा वैदेशिक लगानीको आवश्यकता रहेको बताउदै उनले कोरियामा रहेका नेपालीहरुलाई मुलुकमा वैदेशिक लगानी र नयाँनयाँ प्रविधि भित्र्याउन पहल गर्न आग्रह गरे ।

कोरियामा ग्लोबल आइएमई बैंकले शाखा स्थापनाको प्रकृया अगाडि बढाएकोमा खुशी व्यक्त गर्दै अर्थमन्त्री शर्माले विदेशी मुद्राको सञ्चिति घटेको अहिलेको परिवेशमा विश्वका विभिन्न मुलुकहरुमा रहेका नेपालीहरुलाई नेपाली बैंकमा विदेशी मुद्रा खाता सञ्चालनकालागि प्रोत्साहन गर्दै कार्यक्रम गर्ने र विदेशमा नेपाली बैंकको आफ्नै शाखा खोल्न प्रकृया सुरु गरेकोमा ग्लोबल आइएमई बैंकलाई धन्यवाद दिएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले गैर आवासीय नेपालीहरुलाई ढुक्क भएर नेपालमा लगानी गर्न र नेपाली बैंकमा विदेशी मुद्रामा खाता सञ्चालन गर्न आग्रह गरेका छन् । ‘म यहाँका गैर आवासीय नेपालीसाथीहरु तथा गैर आवासीय नेपाली संघलाई पनि अनुरोध गर्न चाहन्छु, आउनुहोस्, तपाई हामी हातेमालो गरेर अगाडि बढायौँ । तपाई हाम्रो सहकार्य र हातेमालोबाट नै मुलुकको सम्मृद्धि सम्भव छ । नेपालमा प्रविधि र लगानी भित्र्याउन तपाईहरुले सहयोग गर्नुहोस् । नेपालभित्र लगानीमैत्री वातावरण बनाउँदै तपाईहरुको लगानीको सुरक्षा गर्न हामी तयार छौँ,’ उनले भने ।

आइएमई समूहले गैर आवासीय नेपालीहरुसँगको सहकार्यमा लम्जुङ्गमा २७ मेगावाटको दोर्दीखोला जलविद्युत आयोजना निर्माणसम्पन्न गरेको बताउँदै उनले पर्यटन, केबलकार, होटल, जलविद्युतलगायत अरु धेरै परियोजनाहरु पाइपलाइनमा रहेको र उद्योग वाणिज्य महासंघले पनि गैर आवासीय नेपाली संघसँगको सहकार्यमा केही आयोजनाहरुमा काम गर्न सकिने बताए ।

प्रतिक्रिया