बर्सेनि झर्ने पहिराले विद्यालय आवतजावतमा समस्या

खोटाङ । रावाबेँसी गाउँपालिका २ खार्पास्थित कल्लेरीखोलामा बर्सेनि झरिरहने पहिरोका कारण रुभुङका स्थानीय बासिन्दालाई लामो समयदेखि आवतजावतमा समस्या भएको छ ।
लामो समयदेखि बर्सेनि झरिरहने पहिरोले साविकको खार्पा गाविस वडा १ रुभुङका विद्यार्थीलाई विद्यालय तथा स्थानीय बासिन्दालाई वडा कार्यालय आवतजावतमा समस्या भएको भएको हो ।अघिल्ला वर्षहरूभन्दा यो वर्ष कल्लेरीखोलामा ठूलो बाढी आउनुका साथै पहिराले पनि आफ्नो क्षेत्र बढाएपछि रुभुङवासीलाई विद्यालय तथा वडा कार्यालय आवतजावतमा कठिन भएको स्थानीय उदिम चाम्लिङले बताए । ‘रुभुङका स्थानीय बासिन्दाले खार्पास्थित वडा कार्यालय र शारदा माध्यमिक विद्यालय जान कल्लेरीखोलाको पहिरो पार गर्नुपर्छ,’ उनले भने, ‘करिब सय मिटर क्षेत्रमा फैलिएको पहिराका कारण विशेषगरी विद्यार्थीलाई विद्यालय आवतजावत गर्न समस्या भएको छ ।’
विद्यार्थी जोखिम मोल्दै जुत्ताचप्पल हातमा बोकेर मनभरिको त्रासकासाथ पहिरो पार गर्नुपर्ने बाध्यता रहेको स्थानीय बासिन्दाले बताएका छन् । पहिरोको जोखिम रहेको कल्लेरीखोलामा पुल वा वैकल्पिक बाटोको व्यवस्था नहुँदासम्म जुनसुकै समयमा पनि अप्रिय घटना हुनसक्ने चाम्लिङले बताए ।
पहिराको कारण उत्पन्न समस्या दीर्घकालीनरुपमा समाधान गर्न गाउँपालिकाले अध्ययन सुरु गरेको गाउँपालिका फटिककुमार श्रेष्ठले बताए । ‘तत्कालका लागि आवतजावतलाई सहज बनाउन गाउँपालिकाको तर्फबाट बजेट उपलब्ध गराएर काम अघि बढाउन वडा कार्यालयलाई जिम्मा दिइएको छ,’ उनले भने, ‘दीर्घकालीनरुपमा समस्या समाधान गर्न गाउँपालिकाबाट प्राविधिक टोली परिचालन गरेर उनीहरूले ल्याएको प्रतिवेदनको आधारमा काम गर्ने योजना बनाइएको छ ।’
कल्लेरी र लोचाखोलामा बर्सेनि आउने बाढी तथा पहिराले रावाबेँसी गाउँपालिकाको तल्लो क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दाले लगाएको खेतबारीमा क्षति पुर्याएको छ । बाढी तथा पहिरोले खार्पा र कुभिण्डेमा बर्सेनि लाखौँको अन्नबालीमा क्षति हुने गरेको गाउँपालिकाले जनाएको छ ।
गत असार १९ गते राति भारी वर्षासँगै गएको पहिरोका कारण वडा ६ हौँचुरका भैरवबहादुर राईको परिवार विस्थापित भएका थिए । पहिराका कारण स्थानीय हरि राई, पर्शुराम राई, चित्रबहादुर खत्री, शुक्रराज राई, उद्योगबहादुर भुजेल, धनबहादुर राई, पथरबहादुर राई, वर्णबहादुर राई, केसन राई र प्रदीप राईको परिवार अझै उच्च जोखिममा रहेको वडाध्यक्ष चिरञ्जिवी कार्कीले जानकारी दिए । -रासस

प्रतिक्रिया