कुल वस्तु व्यापार घाटामा १० प्रतिशतले घट्याे, एक महिनामा १ खर्ब १६ अर्बको व्यापार घाटा

काठमाडौं । कुल वस्तु व्यापार घाटामा कमी आएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती सम्वन्धी चालु आर्थिक बर्षको पहिलो महिनाको प्रतिवेदन अनुसार कुल वस्तु व्यापार घाटा १० दशमलव चार प्रतिशतले कमी आई एक खर्ब १६ अर्ब ४८ करोड पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ७० दशमलव छ प्रतिशतले बढेको थियो । प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७९÷८० को पहिलो महिनामा कुल वस्तु निर्यात भने २८ दशमलव सात प्रतिशतले कमी आई १४ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात एक सय १५ दशमलव नौ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत र चीनतर्फ भएको निर्यात क्रमशः ३६ दशमलव पाँच प्रतिशत र २४ दशमलव चार प्रतिशतले घटेको देखिएपनि अन्य मुलुकतर्फको निर्यात पाँच दशमलव सात प्रतिशतले बढेको छ ।
वस्तुगत आधारमा पाम तेल, जिंक शिट, तयारी पोशाक, औषधी (आयुर्वेदिक), पार्टिकल बोर्ड लगायतका वस्तुको निर्यात बढ्दा सोयाविन तेल, पिना, जुटका सामान, जुस, अलैंची लगायतका वस्तुको निर्यात भने घटेको प्रतिवेदनमा उल्लेख छ । राष्ट्र बैंकका अनुसार आव २०७९÷८० को पहिलो महिनामा कुल वस्तु आयात भने १२ दशमलव नौ प्रतिशतले कमी आई एक खर्ब ३१ अर्ब २९ करोड रुपैंयाँमा सिमित भएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ७५ दशमलव सात प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १२ दशमलव एक प्रतिशत, १० दशमलव पाँच प्रतिशत र १५ दशमलव नौं प्रतिशतले कमी आएको छ ।
वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, स्पंज आइरन, औषधी, रासायनिक मल, कच्चा पाम तेल लगायतका वस्तुको आयात बढेको छ भने सवारी साधन तथा स्पेयर पार्टपुर्जा, एम.एस.विलेट, दूरसंचार उपकरण तथा पार्टस् , कच्चा सोयाविन तेल, हट रोल्ड शिट इन क्वाइल लगायतका वस्तुको आयात घटेको छ । नर्याततर्फ कृष्णनगर, कैलाली, मेची, त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ ।
आयाततर्फ तातोपानी, जलेश्वर, सुख्खा बन्दरगाह, कैलाली, रसुवा बाहेकका सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ । राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा निर्यात–आयात अनुपात ११ दशमलव तीन प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १३ दशमलव आठ प्रतिशत रहेको थियो ।
समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी १३ अर्ब ३७ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १८ अर्ब ८६ करोड बराबरको भएको राष्ट्र बैंकको भनाइ छ ।

प्रतिक्रिया