रेमिट्यान्स रकम बढ्यो, ९२ अर्ब २१ करोड भित्रियो

नेपालखोज २०७९ भदौ ३० गते १८:३७

काठमाडौं । रेमिट्यान्स रकम बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो महिनामा मुलुकले वैदेशिक रोजगारीबाट प्राप्त गर्ने आय अर्थात रेमिटेन्स रकम बढेको देखिएको हो । राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती सम्वन्धी पहिलो महिनाको प्रतिवेदन अनुसार रेमिटेन्स रकम २० दशमलव तीन प्रतिशतले बढेर ९२ अर्ब २१ करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७ दशमलव चार प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२ दशमलव पाँच प्रतिशतले वृद्धि भई ७२ करोड ४० लाख पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६ दशमलव आठ प्रतिशतले घटेको थियो ।

राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या दुई सय २२ दशमलव आठ प्रतिशतले वृद्धि भई ४४ हजार पाँच सय ४० पुगेको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ७५ दशमलव चार प्रतिशतले वृद्धि भई २० हजार तीन सय ९० पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या दुई सय ८६ दशमलव एक प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर १८ दशमलव चार प्रतिशतले वृद्धि भई एक खर्ब एक अर्ब ६९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १५ दशमलव सात प्रतिशतले घटेको राष्ट्र बैंकको भनाइ छ ।

प्रतिक्रिया