क्यान महासंघका निवर्तमान अध्यक्ष विट्साको ‘वोर्ड अफ डाइरेक्टर्स’ मा निर्वाचित

नेपालखोज २०७९ असोज २ गते १३:११

काठमाडौं । कम्प्युटर एशोसियसन नेपाल महासंघ (क्यान महासंघ) का निवर्तमान अध्यक्ष हेमन्त कुमार चौरासिया वल्र्ड इन्फर्मेसन टेक्नोलोजि एन्ड सर्भिसेज एलायन्स विट्साको सन् ०२२-२४ कार्यकालको निम्ति बोर्ड अफ डाइरेक्टरमा पुन: निर्वाचित भएका छन् । गत हप्ता बसेको विट्साको वार्षिक साधारणसभामा क्यान महासंघको प्रतिनिधित्व गर्दै चौरासिया सो पदमा आफ्नो तेश्रो कार्यकालका निम्ति निर्वाचित भएका हुन् ।

यसअघि उनी सन् ०१८-२० कार्यकालको निम्ति क्यानमा महासंघबाट प्रतिनिधित्व गर्दै सोही पदमा निर्वाचित भएक थियो भने सन् ०२०-२२ कार्यकालमा कोषाध्यक्ष रहेका थिए । चौरासियाले सन् २०१७ देखि २०१९ कार्यकालका निम्ति क्यान महासंघमा अध्यक्षको रुपमा नेतृत्व गरेका थिए ।

द नेशनल टेक एसोसियशन अफ मलेशिया (पिकोम) का अध्यक्ष डा. शिन सीहको अध्यक्षतामा निर्वाचित २० सदस्यीय समितिमा ५ महादेशवाट प्रतिनिधित्व गर्दै मलेसिया, ब्राजिल, स्पेन, वर्मुडा, दक्षिण अफ्रिका, कोस्टारिका, जोर्डन, हंगकंग, बहराईन, नाइजेरिया, नेपाल, उत्तरी म्यासेडोनिया, क्यानाडा, अर्जेन्टिना, बङ्गलादेश, जापान, ताईवान, ईजिप्ट, रोमानिया र अर्मेनियाका सूचना तथा संचार प्रविधि सम्बन्धि काम गर्ने संगठित छाता संगठनका प्रतिनिधिहरु निर्वाचित भएका छन् ।

विश्वका विभिन्न ८० देशमा सदस्यहरु रहेको विट्सा, विश्वको सूचना प्रविधि सम्बन्धी हुने समग्र आर्थिक कारोबारको ९० प्रतिशत प्रतिनिधित्व गर्छ । चौरासिया बोर्ड अफ डाइरेक्टरमा निर्वाचित भएकोमा क्यान महासंघ उनको सफल कार्यकालको कामना गर्दछ ।

साथै, विट्सामा उनको प्रतिनिधित्वले बदलिंदो प्रविधि र डिजिटल अर्थतन्त्रमा सबैको पहुंच एवं सुचना तथा संचार प्रविधि-देश विकाशको नयाँ रणनीतिक स्तम्भको रुपमा स्थापित गर्ने क्यान महासंघको प्रयासमा मदत पुग्ने विश्वास क्यान महासंघको रहेको छ ।

प्रतिक्रिया