‘आकाश हेरेर सुत्ने समय यकिन हुन्छ’

बझाङ । खप्तडछान्ना गाउँपालिका–१ तल्लाबगणका महादेव गिरी झरी पर्नैै हुन्न तर्सिहाल्छन् । खोला नजिकैको बस्ती हुँदा कति बेला कस्तो घटना दोहोरिन्छ भन्दै चिन्तितले सताउँछ । राति मात्रै होइन, दिउँसो पनि झरी पर्ने वित्तिकै डाँडामा चढ्नु, जडारी खोलामा बहाब बढेको दिन रातभर जाग्राम बस्नु उनको नियति नै हो ।
आइतबार राति पनि महादेवलाई त्यस्तै भयो । दिनभर झरी परेपछि सो खोलाले दिउँसै बाटो मोडेको थियो । तल्लाबगणको अर्को छेउमा बग्ने खोलाले बस्तीतिर धार फर्काएको थियो । साँझ झिसमिसेमा भने पानीसमेत रोकिएर सुक्खा भइसकेको थियो ।
‘एक्कासि राति जडारीगाडमा ढुङ्गाको गड्याङगुडुङ आवाज आएपछि निन्द्रा खुल्यो,’ महादेवले भने ‘राति बाहिर आउँदा त बगर पूरै जलमग्न भएको रहेछ ।’
त्यसपछि महादेवले गाउँलेलाई उठाए । रातिको खाना खाएर सुतेका तल्लाबगणवासीले मध्यराति दुईबजेदेखि नै जाग्राम बस्नुपर्यो । ‘गाउँमै भए पनि सडकको छेउमा पसल भएकाले हामी त पसलमै थियौँ,’ उनले भने, ‘गाडले ठूलै सङ्केत गरेपछि श्रीमान् श्रीमती नै टर्च बालेर गाउँमा सबैलाई उठाउन गयौँ । गाउँमा सबैले जानकारी पाएर एउटा घरको छेउमा बसेका रहेछन् । पछि सबैजना त्यतै जम्मा भएर रात बितायौँ ।’
खप्तडछान्ना –१ खातीगाउँका हर्कबहादुर खातीले आइतबार रातभर नै गाउँमा पहरा दिएका रहेछन् । ‘दिनभर परेको पानीले जडारीगाडको बहाब बढेको भन्दै गाउँलेलाई दिउँसै सचेत गराएको थिएँ । साँझ मौसम केही सुधार भयो । मध्यराति त जडारीगाडले बगाएर ल्याएका ढुङ्गाको आवाज घरको छेउमा आएजस्तै भयो । डेढ बजे राति बाहिर हेर्दा त बगरभरि पानी फैलिएको देखियो । त्यसपछि सबै गाउँलेलाई बोलाएर डाँडाको घरमा जाग्राम बस्यौँ ।’ उनले भने ।
खातीका अनुसार खातीगाउँको अवस्था पनि तल्ला बगणको जस्तै छ । राति पानी पर्दा नसुत्ने, आकाश हेरेर सुत्ने समय यकिन गर्ने, जोखिममा रहेका घरबाट उकालो चढेर डाँडामा आफन्तको घरमा जाने । यो समस्या खातीगाउँवासीको मनसुन सुरू भएयता दैनिकी जस्तै हो । ‘पानी पर्दा आसपासका बस्तीले डाँडातिर, चौतारातिर जाग्राम बस्दै भगवानलाई पुर्कानुबाहेक केही हुँदैन,’ उनले भने ।
गत वर्ष असोज ३० देखि कात्तिक ३ गतेसम्म अविरल बेमौसमी वर्षापछि जडारीगाडमा आएको बाढीले खप्तड छान्नामा शताब्दीकै ठूलो क्षति गरेको थियो । सयौँ रोपनी उत्पादन हुने जमिन, करोडौँ मूल्य बराबरको भौतिक संरचना, नहर कुलो, सडक, खानेपानी, विद्युत्लगायत भौतिक सम्पति सबै पूर्णरूपमा ध्वस्त भएको थियो ।
‘गत वर्षको बाढी आउँदा हामी घरमै थियौँ’, उनी भन्छन्, ‘दिउँसोतिर खातीगाउँ जिउलोको छेउमा पानी घट्टको आगन मात्रै बगाएको थियो । राति त हेर्दाहेर्दै जिउलोसहित त्यसमा बनाइएका संरचना सबै एकै झट्कामा निल्यो । दुई परिवारका बच्चा त नाङ्गै घरबाट तानेर ज्यान जोगाएका थियौँ । मानवीय क्षति नभए पनि भौतिक सम्पत्ति सबै ध्वस्त भएको थियो ।’

प्रतिक्रिया