बैंक तथा वित्तीय संस्थालाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न अर्थमन्त्रीको शर्माको आग्रह

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बैंक तथा वित्तीय संस्थाको लगानी औद्योगिक र उत्पादनमूलक क्षेत्रमा बढाउनुपर्नेमा जोड दिएका छन् । निक्षेप तथा कर्जा सुरक्षण कोषको ४९औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले औद्योगिक एवं उत्पादनमूलक क्षेत्र लगानी अभावमा समस्यामा पर्न नहुने बताए ।
ती क्षेत्रको विकासबिना देशको आर्थिक विकास सम्भव नभएको उल्लेख गर्दै उनले लगानीको अभावमा ती क्षेत्र धारासयी बन्न नहुने उल्लेख गरे । अर्थमन्त्री शर्माले परियोजनालाई धितो राखेर नै लगानी गर्ने प्रबन्ध गरिनुपर्नेमा जोड दिए । उनले ग्रामीण अर्थतन्त्रको विकास नगरिकन मुलुक आर्थिक रुपमा सबल बन्न नसक्ने स्पष्ट पारे ।
हालको नीतिले बैंक तथा वित्तीय संस्थाले कृषि क्षेत्रमा ऋण दिइए पनि त्यसैबाट घर जग्गामा लगानी हुने अवस्था देखिएको भन्दै उनले यस्ता विषयमा सरोकारवालाले ध्यान दिनुपर्ने बताए । उनले भने, ‘बैंक तथा वित्तीय क्षेत्रको लगानी उत्पादनमूलक क्षेत्रमा हुनुपर्छ । औद्योगिक र उत्पादनमूलक क्षेत्रलाई दुई प्रतिशत कम ब्याजमा ऋण दिनुपर्छ ।’
आयात प्रतिस्थापन गर्नका लागि उत्पादन वृद्धि गर्नुको विकल्प नभएको र त्यसका लागि थप लगानी आवश्यक रहेको उनले बताए ।

प्रतिक्रिया