रुसी दुतावासअगाडि धर्ना प्रदर्शन : युक्रेनमा आक्रमण रोक्न आग्रह

काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले ४१ औँ अन्तर्राष्ट्रिय शान्ति दिवस अवसरमा रुसलाई युक्रेनमाथिको आक्रमण तत्काल रोक्न र युक्रेनको सार्वभौमसत्ताको सम्मान गर्न आग्रहसहित धर्ना प्रदर्शन गरेको छ ।
काठमाडौंमा रहेको रुसी राजदुतावास अगाडि आधा घण्टासम्म भएको धर्नामा शान्तिवादीहरुले रुस र युक्रेनको सार्वभौमसत्ताको सम्मान गर, रुस : युक्रेनबाट तत्काल सैनिक फिर्ता गरि युद्ध अन्त्य गर, रुस : युद्ध रोक, शान्ति प्रवद्र्धन गर, रुस : युक्रेनमाथि आक्रमण बन्द गर, शान्ति दिवसको सन्देश : युद्ध निषेध, शान्ति विशेष लेखिएका प्लेकार्डहरु प्रदर्शन गरेका थिए ।
धर्ना पश्चात रुसी राष्ट्रपति भ्लादिमिर पुटीनलाई शान्ति समाजका तर्फबाट लेखिएको पत्र रुसी राजदुतासबासका अधिकारीलाई हस्तान्तरण गरिएको थियो । पत्रमा रुसलाई युक्रेनबाट तत्काल सेना फिर्ता गरी युद्ध रोक्न र शान्ति प्रवर्द्धन गर्नका लागि अभिभावकिय भूमिका निर्वाह गर्न आग्रह गरिएको छ ।
यसैगरी अन्तर्राष्ट्रिय शान्ति दिवसका अवसरमा युक्रेनको सार्वभौमसत्ताको सम्मान गर्न र तत्काल युद्ध रोक्न रुसलाई आग्रह गर्दै असोज ५ गते शान्ति समाजका चितवन, दाङ, सुर्खेत, बाँके, नवलपुर, तेह्रथुम, रुपन्देहीसहित एक दर्जन शाखाले धर्ना प्रदर्शन गरेका छन् । संयुक्त राष्ट्रसंघ महासभाले सन् १९८१ मा घोषणा गरी १९८२ देखि अन्तर्राष्ट्रिय शान्ति दिवस मनाउन थालिएको हो । अहिंसा र युद्धविराम मार्फत शान्तिको आदर्शलाई सुदृढ गर्नका लागि समर्पित दिनका रुपमा विश्वभरी शान्ति दिवस मनाउँदै आएको छ ।

प्रतिक्रिया