शुक्रबार, चैत १६, २०८०

काठमाडौं महानगरपालिकाले वीर अस्पताल अगाडिका अस्थायी टहरा हटायो

नेपालखोज २०७९ असोज ६ गते १९:२३

काठमाडौं । काठमाडौं महानगरपालिकाले वीर अस्पताल अगाडि निर्माण गरेका अस्थायी टहरा हटाएको छ । महानगरपालिकाको नगर प्रहरीले आज वीर अस्पतालको सर्जिकल भवनतर्फ टाँसेर बनाइएका टहरा हटाएको हो । उक्त टहरामा औषधि पसल सञ्चालनमा रहेका थिए ।

महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले नक्साविपरीत बनाइएका अवैध संरचना तथा टहरा हटाइएको जानकारी दिए । महानगरपालिकाले बुधबार नक्साविपरीतका टहरा सञ्चालन भएको भन्दै सम्बन्धित पसलेलाई खाली गर्न आग्रह गरेको थियो ।

महानगरको सूचनासँगै केही पसलेले आफ्नो पसलमा रहेका सामग्री अन्यत्र सारेका थिए भने केहीले भने सार्न पाएका थिएनन् । महानगरले यसअघि काठमाडौंको कोटेश्वर, बानेश्वर, न्यूरोड, नयाँ बसपार्क, सोह्रखुट्टे, बनस्थली, चाबहिल, वसुन्धरा लगायतका क्षेत्रमा अवैधरुपमा निर्माण गरिएका तथ नक्सा पास नगरेका घर तथा टहरा हटाउँदै आएको छ ।

प्रतिक्रिया