समाजसेवाका नाममा विद्यालयको जग्गा कब्जा गर्दै म्यानपावर व्यवसायी गौतम
काठमाडौं । नेपालका टुहुरा अनाथ बालबालिकाको संरक्षणका लागि तत्कालीन महारानी रत्नराज्य लक्ष्मीदेवी शाहले २०२१ साल भाद्र ४ गते आफ्नो जन्मोत्सवको अवसर पारेर नेपाल बाल संगठन स्थापना गरेकी थिइन् । तत् पश्चात नेपाल बाल संगठनले मुलुकभर अनाथ र टुहुरा बालबालिकालाई संरक्षण गर्न थालेको देखिन्छ । तर, पछिल्लो समयमा नेपाल बाल संगठनले जस्तै गरी बालबालिकाहरुको संरक्षण गर्ने नाममा धेरै संस्थाहरु खुलेका छन् ।
तर, ती संस्थाहरुले साँच्चै नै बालबालिकाहरुको संरक्षण गरेका छन् त भन्ने प्रश्न उब्जिएको देखिन्छ । पछिल्लो समय नेपाल बाल संगठनले धर्मपुत्र वा धर्मपुत्रीका नाममा बालबालिकाहरुलाई विदेश पठाउने काम गरेपछि आएको विवादले अधिकांश बाल संरक्षणका लागि खुलेका संस्थाहरुको धन्दा नै धर्मपुत्र धर्मपुत्रीका नाममा बालबालिका बेच्ने काम भईरहेको आरोप पनि लागेको छ । त्यत्तिमात्र होइन नेपाल बाल संगठनलाई त नेपाल सरकारले आफ्नो मातहतमा सञ्चालनमा राख्ने निर्णय नै गरिसकेको छ ।
नेपालखोजले गरेको अनुसन्धानमा २०४८ साल बैशाख २४ गते दरबार कै संरक्षणमा रहेका व्यक्तिहरुले स्थापना गरेको बाल विकास समाज नामक संस्थाले सरकारी जग्गा कब्जा गरेको छ । बालबालिकाको अधिकार संरक्षण भन्दै शक्तिको आडमा त्यसबेला दरबारको समेत शक्ति देखाएर विद्यालयको जग्गा हडपेर भवन निर्माण गरेको देखिएको छ । सो भवनमा अहिले बालविकास समाजको कार्यालय छ भने कार्यकक्षमा तात्कालीन कार्यसमितिका सदस्यहरुले पूर्वरानीहरुसँगको सामूहिक तस्वीर देखाएर राखेका छन् ।
विगतमा जे जस्ता कार्य गरेपनि अहिले १५ वर्षदेखि सो संस्थाले काठमाडौं बुढानिलकण्ठ नगरपालिका कपन फैका स्थित बालकुमारी प्राथमिक विद्यालयको स्वामित्वमा रहेको साविक कपन गाविस वडा नं. १ (ङ) कित्ता नं. ७ को जग्गा कब्जा गरेर बसेको छ । बाल विकास समाजका पदाधिकारीहरुको आर्थिक प्रलोभनमा तात्कालीन कपन गाउँ विकास समितिको कार्यालय मार्फत २०६२/२/१६ गते विद्यालयको जग्गा उपभोग गर्न पाउने अधिकारको चिठ्ठी समेत सो सस्थालाई दिएको देखिन्छ ।
त्यसैलाई आधारमा मानि तात्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवप्रसाद न्यौपाने र समाजका कार्यवाहक अध्यक्ष रमेशकान्त अधिकारीले जग्गा उपभोग गर्ने विषयमा २०६२ जेठ ३ गते १४ बुँदे सहमति गरेका थिए । जुन अवैधानिक सम्झौताका रुपमा देख्न सकिन्छ । सरकारी जग्गा ४ जना स्थानीयबासीले हस्ताक्षर गरेर कुनै संस्थाले बर्षौसम्म भोगचलन गर्न पाउँला ?
निश्चित अवधिका लागि बालविकास समाजले उपभोग गर्न दिएको जग्गा पूर्ण रुपमा कब्जा गरिएको विषयमा बालविकास समाजको अध्यक्ष रहेका म्यानपावर व्यवसायी सुवास गौतम भन्छन्, हामीले स्कूलको सहमतिमा भवन बनाएका हौं कुनै हालत पनि भवन छाड्दैनौं । जवसम्म संस्था रहिरहन्छ हामी पनि रहिरहन्छौं । गौतमको भनाईले के स्पष्ट हुन्छ भने बालविकास समाज खारेज नभएसम्म विद्यालयको स्वामित्वमा रहेको जग्गा बाल विकास कै कब्जामा रहने छ ।
यसरी सरकारी जग्गा साधारण घरायसी सम्झौता गरे जस्तै गरी बर्षौसम्म उपभोग गर्ने कानूनी अधिकार नभएको र सो कुरा गैरकानूनी भएको भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका प्रवक्ता सहसचिव जनकराज जोशीको भनाई छ । प्रवक्ता जोशीका अनुसार अहिले सार्वजनिक जग्गा संरक्षणका लागि समेत भूमि सम्वन्धि समस्या समाधान आयोग बनिसकेकाले त्यसबाट थप अनुसन्धान गरी विद्यालयको जग्गा विद्यालयकै स्वामित्वमा ल्याइने बताए ।
बालकुमारी प्राथमिक विद्यालयको जग्गा हडप्ने बाल विकास समाजको योजना रहेको स्थानीयहरुले समेत आरोप लगाईरहँदा संस्थाका पूर्व अध्यक्ष एवं संस्थापक समेत रहेका शरद शर्मा भन्छन्, ‘हामीले निकै कष्ट गरेर स्थापना गरेको हो बाल विकास समाज । यसलाई कुनै हालतमा पनि विवादमा तानिनु हुँदैन, अहिले म संस्थासँग संलग्न नभएकाले के भईरहेको छ भन्ने कुरामा अनभिज्ञ छु ।’
त्यसो त विद्यालयको जग्गाामा बालविकास समाजले आफ्नो प्रयोगका लागि साँढे दुई तल्ले पक्की भवन बनाइएको छ । करीव दुई करोड लगानी गरेर भवन बनाएको समाजले स्पष्ट पारेको छ । अर्काको जग्गामा गएर जर्वजस्ती घर बनाउने र छाड्न नमान्ने मात्र होइन मासिक रुपमा स्कूललाई कुनै पनि भाडा समेत समाजले दिएको छैन । अहिले संस्थाको नेतृत्व म्यानपावर व्यवसायी सुवास उर्फ सुनिल पाणी गौतमले गरिरहेका छन् ।
प्रतिक्रिया