काठमाडौं महानगरका आठवटा वडामा क्षयरोग जाँच निःशुल्क

काठमाडौं । काठमाडौं महानगरपालिकाका आठवटा वडामा क्षयरोग जाँच नि:शुल्क गरिएको छ । जापान क्षयरोग निवारण संस्थाले जापान नेपाल स्वास्थ्य तथा क्षयरोग अनुसन्धान संस्था र स्थानीय वडा कार्यालयको सहकार्यमा दुईदिने नि:शुल्क क्षयरोग स्वास्थ्य शिविर गरेको हो ।
सो संस्थाले काठमाडौं महानगरपालिकाको वडा ६, ७, १०, १५, १६, १८, २६ र ३२ वडामा क्षयरोग जाँच निःशुल्क गरेको हो । जापान क्षयरोग निवारण संस्थाका कार्यक्रम समन्वयकर्ता डिएन शर्माले काठमाडौं महानगरपालिकाको धेरै जनसंख्या भएको वडालाई लक्षित गरी उक्त कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए ।
समाजमा लुकेर रहेका क्षयरोग विरामीलाई स्वास्थ्य उपचार गर्ने उदेश्यका साथ स्थापना भएको उक्त संस्थाले आगामी दिनमा काठमाडौं महानगरपालिका भित्रका सबै वडामा क्षयरोग जाँच नि:शुल्क गर्ने जनाएको छ ।
कार्यक्रम समन्वयकर्ता शर्माका अनुसार क्षयरोग लागेका व्यक्तिलाई रोग पत्ता लगाएर उपचार गरी क्षयरोग मुक्त समाज निर्माण गर्नु संस्थाको मुख्य उदेश्य हो । यस्तै, जापान-नेपाल स्वास्थ्य तथा क्षयरोग अनुसन्धान संस्थाले नेपालभरका ११ वटा जिल्लामा क्षयरोगको क्षेत्रमा काम गर्दै आएको छ ।
यो संस्थाले बागमती प्रदेशको काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, धादिङ, चितवन र मकवानपुरका साथै गण्डकी प्रदेशको कास्की, तनहुँ, स्याङ्जा र नवलपुरमा काम गर्दै आएको छ ।

प्रतिक्रिया