शुक्रबार, वैशाख ७, २०८१

‘मुलुकमा प्राप्त उपलब्धिलाई संस्थागत हुन नदिने शक्ति अझै सक्रिय छ’

नेपालखोज २०७९ असोज ७ गते १७:२२

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिबाट संविधानको पालना हुन नसकेको आरोप लगाएका छन् ।

पार्टी निकट अखिल नेपाल किसान महासंघ क्रान्तिकारीको तेस्रो राष्ट्रिय भेलालाई आज राजधानीमा सम्बोधन गर्दै अध्यक्ष दाहालले राष्ट्रपतिबाट भएको यो कार्यलाई सामान्यरुपमा लिन नमिल्ने धारणा पनि राखे ।

अध्यक्ष दाहालले मुलुकमा ऐतिहासिक जनआन्दोलन र जनयुद्धका उपलब्धिलाई संस्थागत हुन नदिने शक्ति अझै क्रियाशील रहेको बताए । उनले गत वर्ष संसद् विघटनबाट सुरु भएको प्रतिगमन त्यतिबेलाका लागि परास्त गरिए पनि त्यो अझै नरोकिएको समेत बताए । यसका विरुद्धमा आन्दोलनको तयारी गर्न अध्यक्ष प्रचण्डले किसानलाई आग्रह गरे ।

‘हामीले आवाज उठाएनौँ भने प्रतिगमनको फँडाले फेरि डस्न सक्छ, किनकी यसले ऐतिहासिक उपलब्धिविरुद्ध रातदिन प्रहार र षडयन्त्र गरिरहेको छ,’ उनले भने । यसका साथै अध्यक्ष दाहालले प्राप्त उपलब्धिलाई सिध्याउन नेतृत्वमाथि प्रहार गर्ने क्रममा आफूमाथि भ्रष्टाचारका साथै अन्य खालका झुटा प्रचार केन्द्रित गरिएको बताए ।

‘भारत गएका बेला हुँदै नभएको भेटलाई पनि भेटभयो भन्दै नितान्त झुटा प्रचार गरिएको छ,’ अध्यक्ष दाहालको भनाइ थियो । आफूले दुई पटक सरकारको नेतृत्व गर्दा ‘भ्रष्टाचार भयो’ भन्ने अवसर कसैलाई नदिएको भन्दै उनले अहिले करोडौँ खर्च गरेर आफूविरुद्ध प्रचार केन्द्रित गरेको बताए ।

अध्यक्ष दाहालले वामपन्थी शक्तिको एकताका लागि आफू क्रियाशील रहिरहेको जानकारी पनि सम्बोधनका क्रममा दिए । भेलामा नेकपा (एकीकृत समाजवादी) निकट अखिल नेपाल किसान महासंघका नेता बलराम बाँस्कोटाले दाहाललाई वामपन्थी पार्टीबीच एकता गर्ने कार्यमा खुट्टा नकमाउन आग्रह गरेका थिए । भेलामा महासंघ आबद्ध २४ वटा किसान सम्बद्ध घटक संगठनको सहभागिता रहेको छ । -रासस

प्रतिक्रिया