शुक्रबार, वैशाख १४, २०८१

तनहुँमा कोरोना  द्रूत परीक्षणको यस्तो छ अवस्था

नेपालखोज २०७७ वैशाख ११ गते १५:०५

तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँ र मातहतका प्रहरी इकाइमा रहेका ६ जना थुनुवाको कोरोना  द्रूत परीक्षण (आरडिटी) गरिएको छ । थुनुवालाई जिल्ला अदालतमा पेश गर्दा अनिवार्य कोरोना परीक्षण रिपोर्ट पेश गर्नुपर्ने अदालतको आदेशानुसार उनीहरुको आरडिटीमार्फत् कोरोना सङ्क्रमण परीक्षण गरिएको हो । दमौलीका ४ र आँबुखैरेनीका २ गरी ६ जना थुनुवाको द्रूत परीक्षण गरिएको र उनीहरु सबैको रिपोर्ट नेगेटिभ रहेको जिल्ला स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

जिल्लाका दश स्थानीय तहमा ५ सय ५१ जनाको द्रूत परीक्षण सकिएको छ । परीक्षण गरिएकामध्ये ४ सय ८३ पुरुष र ६८ महिला रहेका छन् । स्वास्थ्य कार्यालयका अनुसार भानु नगरपालिकामामा ४८, व्यास नगरपालिकामा १ सय २२, म्याग्दे गाउँपालिकामा ३६, शुक्लागण्डकी नगरपालिकामा ७४, भीमाद नगरपालिकामा ७३, घिरिङ गाउँपालिकामा ४०, ऋषिङ गाउँपालिकामा ६२, देवघाट गाउँपालिकामा ३६, बन्दीपुर गाउँपालिकामा २२ र आँबुखैरेनी गाउँपालिकामा २१ जनाको द्रूत परीक्षण भइसकेको छ । त्यस्तै दमौली अस्पतालमा १६ जनाको द्रूत परीक्षण गरिएको छ । “सम्बन्धित स्थानीय तहबाट तालीमप्राप्त स्वास्थ्यकर्मी खटाएर टोल–टोलमा पुगेर द्रूत परीक्षण गरिएको छ,” अधिकारीले भने, “विदेशबाट फर्किएर होम क्वारेन्टाइनमा १४ दिनदेखि २१ दिनसम्म बसेका सर्वसाधारणको द्रूत परीक्षण गरिएको छ ।”

जिल्लाका लागि थप एक सय थान किट उपलब्ध गराउन प्रदेश सरकारसँग माग गरिएको छ । द्रूत परीक्षणमा पोजेटिभ देखिएको अवस्थामा पुनःपरीक्षणका लागि ल्याबमा पठाइनेछ । द्रूत परीक्षणबाट १५ मिनेटमै कोरोना भाइरसको परीक्षण गर्न सकिने भएकाले छोटो अवधिमै धेरै जनामा परीक्षण गरी जोखिमलाई न्यूनीकरण गराउन सहयोग पुग्ने विश्वास लिइएको छ ।

चैत १ गतेदेखि जिल्लामा विदेशबाट आउनेको सङ्ख्या ८ सय २७ पुगेको छ । भारतलगायत तेस्रो मुलुकबाट जिल्ला आउनेमध्ये भानु नगरपालिकामा ९०, व्यास नगरपालिकामा १ सय ९४, म्याग्दे गाउँपालिकामा ४३, शुक्लागण्डकी नगरपालिकामा १ सय २४, भीमाद नगरपालिकामा १ सय २५, घिरिङ गाउँपालिकामा ६२, ऋषिङ गाउँपालिकामा १ सय ३, देवघाट गाउँपालिकामा ३७, बन्दीपुर गाउँपालिकामा २३ र आँबुखैरेनी गाउँपालिकामा २६ जना छन् ।

प्रतिक्रिया