बुधबार, वैशाख १२, २०८१

शङ्खरापुरमा नगर प्रमुखसँग निःशुल्क घरदैलो स्वास्थ्य सेवा

नेपालखोज २०७९ असोज ८ गते ११:०३

काठमाडौं । शङ्खरापुर नगरपालिकामा नगर प्रमुखसँग निःशुल्क घरदैलो स्वास्थ्य सेवा कार्यक्रम सुरु भएको छ । नगरप्रमुख रमेश नापितले वडा नम्बर १ छाप भञ्ज्याङमा उक्त कार्यक्रम शुभारम्भ गर्दै सबैभन्दा विकट क्षेत्रको रुपमा रहेको सिन्धुपाल्चोक जिल्लासँग सीमा जोडिएको यस स्थानको घरदैलोमै आएर निःशुल्क स्वास्थ्य सेवा सुरु गरिएको जानकारी दिए ।  

‘बृद्ध हुनुभएका बुबाआमा जसलाई उपचारका लागि समस्या परिरहेको छ, उहाँहरुका लागि आज हामीले निःशुल्क उपचार सुरु गरेका छौँ । उहाँहरुको स्वास्थ्यमा यहाँ उपचार नहुने समस्या देखिएमा शङ्खरापुर नगर अस्पताल वा सुष्मा कोइराला मेमोरियल अस्पतालमा पठाउने व्यवस्था मिलाएका छौँ,’ उनले भने, ‘नगरवासीमा रोग नै नलागोस् र लागेको छ भने त्यसको उपचारका लागि घरदैलो सेवा सुरु गरेका हौँ, निःशुल्क स्वास्थ्य सेवा पाउनु जनताको अधिकार र चाहना पनि हो, हामी निर्वाचित भएर आइसकेपछि निःशुल्क स्वास्थ्य सेवा दिने काम सुरु गरेका छौँ ।’

आर्थिकरुपमा नगरपालिका कमजोर रहे पनि मन बलियो बनाएर निःशुल्क स्वास्थ्य सेवा सुरु गरिएको र नगरवासीलाई स्वास्थ्य जस्तै शिक्षा क्षेत्र, भौतिक पूर्वाधार विकास र स्वस्छ खानेपानी दिनका लागि प्रयत्नशील भएर लागिपरेको नगरप्रमुख नापितले जानकारी दिए ।  
  
नगर उपप्रमुख समिता श्रेष्ठले जनताको स्वास्थ्य अवस्था सुधार गर्नका लागि कार्यपालिका बैठकबाट नगर प्रमुखसँग निःशुल्क घरदैलो स्वास्थ्य सेवा कार्यक्रम अघि बढाइएको उल्लेख गरिन् ।  
 
यो कार्यक्रमबाट जनतालाई प्रत्यक्षरुपमा फाइदा पुग्छ भनेर सुरु गरेको बताउँदै शिक्षा र स्वास्थ्य क्षेत्रमा विकास नगरी पूर्णरुपमा शङ्खरापुर नगरपालिकाको विकास गर्न नसकिने उनको भनाइ छ । रासस

प्रतिक्रिया