बिहीबार, वैशाख १३, २०८१

पठाओको चार वर्ष पूरा, आजदेखि चितवनमा सेवा सुरु

नेपालखोज २०७९ असोज ८ गते १६:१४

काठमाडौं । राइड सेयरिङ प्लेटफर्म पठाओ नेपालको व्यवसायिक यात्रा ४ वर्ष पूरा भएको छ । पठाओले २५ सेप्टेम्बर २०१८ देखि बाइकमा राइड सेयरिङमार्फत सेवा सुरू गरेको थियो ।

आफ्नो सेवा विस्तार गर्दै पठाओले ९ अगस्ट २०१९ मा कार लाइट अर्थात् ट्याक्सी सेवा पनि जोडेको थियो । कार लाइट सुरु गरेपछि क्याप्टेन (ट्याक्सी चालक) हरूको अतिरिक्त आम्दानीमा टेवा दिँदै ट्याक्सीको सेवालाई बार्गेनिङको झन्झट हटाउँदै गेटदेखि गेटसम्म पुगेको छ ।

अहिले राजधानीका पचास प्रतिशतभन्दा बढी ट्याक्सी चालक प्रविधिमैत्री हुँदै पठाओमा आबद्ध भएको प्रवन्ध निर्देशक असिममान सिंह बस्न्यात बताउँछन् । राइड सेयरिङ सुरू गरेको २ वर्षपछि २५ सेप्टेम्बर २०२० मा पठाओले होटल, रेस्टुरेन्ट तथा क्याफेका खाना डेलिभरी गराउँदै पठाओ फुड सुरू गरेको थियो । राइडर र सेवाग्राहीको सुरक्षालाई मध्यनजर गर्दै पठाओले राइड सेयरिङमा नेपालमै पहिलोपटक हिमालयन एभरेस्ट इन्स्योरेन्ससँगको सहकार्यमा बीमाको सुरूसमेत गरेको छ ।

प्रविधिको विकासले ल्याइदिएको यो सुविधाकै कारण अहिले दैनिकरूपमा हजारौं राजधानीबासीले प्रत्यक्ष रूपमा सहज सेवा पाइरहेका छन् भने दैनिक हजारौं राइडररक्याप्टेन र फुडम्यानले अर्थोपार्जन गरिरहेका छन् । पठाओले गत वर्षदेखि पठाओ बजार पनि सुरू गरेको छ । सामान अर्डर गरेको ४५ मिनेटमै होम डेलिभरी दिने गरी २०७८ को जेठ ३० गतेदेखि पठाओ बजार सुरू गरिएको थियो ।

चितवनमा पठाओमा आवद्ध हुन चाहने राइडरले आफ्नो सवारीको ब्लु बुक र सवारी चालक अनुमतिपत्र सहित भरतपुरको कान्ति चोकमा रहेको पठाओको शाखा कार्यालयमा सम्पर्क गर्न सक्छन् । थप जानकारीका लागि ०१–५९७००९९ मा कल गर्न पनि सकिन्छ ।

आजदेखि चितवनमा सेवा सुरु
काठमाडौं उपत्यकामा लोकप्रिय बनेको पठाओले चितवनमा पनि आजबाट आफ्नो सेवा सञ्चालन गरेको छ । चितवनमा अटो र बाइकमा पठाओ सेवा सुरु भएको हो । यात्रुलाई सहजता प्रदान गर्नुका साथै रोजगारीको माध्यमसमेत बन्दै गएको यस प्लेटफर्ममा युवाहरूको आकर्षण बढी रहेको पठाओकी प्रवक्ता सुरक्षा हमाल बताउँछिन्। चितवनमा पठाओमा आवद्ध हुन चाहने राइडरले आफ्नो सवारीको ब्लू बुक र सवारी चालक अनुमतिपत्रसहित भरतपुरमा रहेको पठाओको शाखा कार्यालयमा सम्पर्क गर्न सक्नेछन् ।
पठाओमा यस्ता छन् सुविधा
पठाओमा हरेक यात्रा बीमाद्वारा सुरक्षित हुने, प्रशिक्षित र प्रमाणित राइडरहरू रहेको, २४ सै घण्टा कल–सेन्टर र ग्राहक सहयोग सेवा, एपभित्रै आपतकालिन प्रहरी सम्पर्कको विकल्प रहेको र हरेक चालक यसको सिस्टममा ट्रयाक हुनुकासाथै राइडको जानकारी आफन्त वा साथीहरूलाई सामाजिक सञ्जालमा सेयर गर्ने सुविधा रहेका छन् । हरेक यात्रामा १ लाखसम्मको उपचार र १० लाखसम्मको दुर्घटना बीमा सुविधा उपलब्ध छ । यो बीमा रकम नेपालमा हालसम्मकै उच्च रकमको राइड सेयरिङ बीमा हो ।

प्रतिक्रिया