मंगलबार, असार १०, २०८२

तेस्रो राष्ट्रिय साधना म्युजिक अवार्ड : वरिष्ठ स्रस्टा सम्मान बी पाण्डेलाई

नेपालखोज २०७९ असोज १० गते १९:२०

काठमाडाैं । राष्ट्रिय साधना म्युजिक अवार्डको तेस्रो संस्करण ‘राष्ट्रिय साधना म्युजिक अवार्ड ‘रिवार्ड’ –२०७९’ सम्पन्न भएको छ । महाराजगञ्जस्थित रोयल दरबार रेष्ट्रोको सभाहलमा एक विशेष समारोहबीच सम्पन्न कार्यक्रममा २६ विधाका कलाकारहरूले अवार्ड ‘रिवार्ड’ प्राप्त गरेका थिए ।

समारोहमा पूर्वेली लोक सङ्गीतका शिखर व्यक्तित्व वरिष्ठ गायक तथा सङ्गीतकार जीतेन राईलाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मानित गरिएको थियो । उनले आफ्ना गीत सङ्गीतमा बिनायो, मुर्चुङ्गा, टुङ तथा यलम्बर बाजा लगायतका मौलिक लोकबाजाहरूको संरक्षण अभियान र प्रयोग एवं संयोजन गर्दै आएका छन् । त्यस्तै वरिष्ठ साहित्यकार नवराज लम्साललाई दीर्घ साहित्य सम्मान अर्पण गरियो भने वरिष्ठ गायिका देबिका बन्दनालाई ‘सङ्गीत रत्न सम्मान’बाट सम्मानित गरिएको थियो ।

त्यस्तै, गीतकार बी पाण्डेलाई वरिष्ठ स्रस्टा सम्मान-२०७९ प्रदान गरिएको थियो भने पत्रकार ध्रुबहरी अधिकारी र किरण अधिकारीलाई पत्रकारिता सम्मान अर्पण गरिएको थियो । विगतका वर्षमा उत्कृष्ट कलाकारलाई प्रमाणपत्र र अवार्ड प्रदान गरिंदै आएको यस अवार्ड तेस्रो संस्करणमा आइपुग्दा कलाकारले प्रमाणपत्र र ट्रफीका साथमा नगदसमेत प्राप्त गरेका थिए । अवार्ड विजेता सबै कलाकारलाई पाँच हजार प्रदान गरिएको थियो ।

यसरी कलाकारलाई अवार्डको साथमा नगद प्रदान गरिएको यो नै पहिलो कार्यक्रम हो । सामना क्रियसनकी अध्यक्ष सामना शाहको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वसभामुख कृष्णबहादुर महराको प्रमुख आतिथ्यता थियो । समारोहमा अवार्डका कमिटीका सदस्य सचिव गोकर्ण लामिछानेले स्वागत मन्तव्य राखेका थिए । दीपज्योती थापाले सञ्चालन गरेको कार्यक्रममा वरिष्ठ कलाकार मोहन निरौला र पत्रकार शान्तिप्रियले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया