बिहीबार, वैशाख १३, २०८१

सुरु भयो ‘क्लिक टू करिअर’

नेपालखोज २०७९ असोज ११ गते १०:३५

काठमाडौं । नेपालको प्रमुख आईटी कम्पनी इन्फोडेभलपर्सले सूचना प्रविधि विषय पढ्दै गरेका विद्यार्थीका लागि करियर विकास गर्ने ‘क्लिक टू करिअर’ कार्यक्रमको सुरुवात गरेको छ ।

यस कार्यक्रमले आईटी क्षेत्रमा आउन चाहने नयाँ प्रतिभालाई आईटी उद्योगका लागि आवश्यक सीप प्रदान गर्ने, प्रशिक्षण दिने, आईटी उद्योगमा काम गर्न सिकाउने र संस्थागत नेटवर्क विकास गर्ने अवसर प्रदान गर्नेछ । यस कार्यक्रमले आईटी उद्योग र एकेडेमियाबीचको दूरीलाई पनि कम गर्न सहयोग गर्नेछ । कार्यक्रमलाई संस्थागत गर्न कार्यक्रमको आफ्नै वेबसाइट https://click2career.infodev.com.np निर्माण गरिएको छ । जसमार्फत थप सूचना प्राप्त गर्न सकिन्छ ।

कार्यक्रमअन्तर्गत इन्फोडेभलपर्सले अहिलेसम्म पाँचभन्दा बढी कलेजमा ‘क्लिक टू करिअर’ कार्यक्रम सञ्चालन गरिसकेको छ । कम्पनीले सञ्चालन गरेको परीक्षामार्फत करिब २०० विद्यार्थीलाई आजबाट विभिन्न विधामा प्रशिक्षण प्रदान गर्नेछ । सहभागीहरुलाई आईटी डोमेनका विभिन्न प्रोजेक्टमा संलग्न गराएर प्रशिक्षण दिने काम हुनेछ । इन्फोडेभलपर्समा कार्यरत विशेषज्ञहरुले सहभागीहरुलाई मेन्टरिङ तथा मार्गदर्शनसमेत गर्नेछन् ।

‘क्लिक टू करिअर’ कार्यक्रमका संयोजक तथा इन्फोडेभलपर्सका सीओओ डा. राजीव सुब्बाका अनुसार यस कार्यक्रमको प्रमुख उद्देश्य भनेको कलेजमा अन्तिम वर्षमा अध्ययनरत विद्यार्थीलाई सूचना प्रविधिका विभिन्न प्रोग्रामिङ विधामा ६० घण्टाको प्रशिक्षण दिएर संस्थामा वास्तविक कार्यहरुसँग काम गर्ने अनुभव प्रदान गर्नु हो । कार्यक्रममा रियाक्ट, भ्यू, एंगुलर, नेड, जाभा, एआई, क्यूए, डेटाबेसमा प्रशिक्षण दिइनेछ ।

यसैगरी यस कार्यक्रमले एन्ड्रोइड, रियाक्ट नेटिभ, पीएचपी, डट नेट, आईओएस, यूआई/यूएक्स डिजाइन, ग्राफिक डिजाइन, बिजनेस एनालिस्ट र फ्ल्टरजस्ता प्रोफेसनल तथा प्रोग्रामिङ कोर्सहरुमा करियर विकासका लागि विद्यार्थीलाई सहयोग गर्दछ । यस कार्यक्रममा प्रशिक्षण समाप्त भएपछि आफ्नो क्षमताअनुसार सहभागीले रोजगारको अवसर पनि प्राप्त गर्नेछन् ।

कार्यक्रम समाप्त भएपछि सहभागीहरुले कोर्स सम्पन्न भएको प्रमाणपत्र प्राप्त गर्नेछन् । कम्पनीले गत वर्ष विन्टर कोड क्याम्प पनि आयोजना गरेको थियो । कार्यक्रमसम्बन्धि थप जानकारी https://click2career.infodev.com.np बाट प्राप्त गर्न सकिन्छ ।

प्रतिक्रिया