बुधबार, वैशाख १२, २०८१

बिमा कम्पनीहरुको पूँजी वृद्धि भएपछि बिमा दावी भुक्तानी र बीमाप्रतिको विश्वास बढ्दै जाने

नेपालखोज २०७९ असोज १२ गते १६:४४

काठमाडौं । बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बिमा कम्पनीहरुको पूँजी वृद्धि भएपछि बिमा दावी भुक्तानी र बिमाप्रतिको विश्वास समेत बढ्दै जाने बताएका छन् ।

बडादशैं, शुभ दीपावली र छठ पर्वको उपलक्ष्यमा बिमा समिति कर्मचारी युनियनले आज ललितपुरमा आयोजना गरेको शुभकामना आदान-प्रदान कार्यक्रमलाई सम्बोधन गरेका हुन् । अध्यक्ष सिलवालले समितिले बिमा कम्पनीहरुको पूँजी वृद्धिको निर्णय गरे अनुरुप पूँजी बृद्धिका लागि दुईवटा कम्पनी मर्ज भएका र अन्य २० वटा कम्पनीले मर्जरका लागि समितिबाट स्वीकृति लिएको बताए ।

अध्यक्ष सिलवालले नयाँ बिमा ऐन आएपछि बिमा समिति बिमा प्राधिकरणमा रुपान्तरण हुने र स्वायत्तताको अभ्यास गर्दै अगाडि बढ्ने बताए । मन्त्रिपरिषद्मा पेश भएको राष्ट्रिय बिमा नीति स्वीकृत भएपछि सोही नीतिका आधारमा संघ, प्रदेश र स्थानीय तहमा बीमा सम्बन्धी काम कारवाही अगाडि बढ्ने र बिमा क्षेत्र थप व्यवस्थित हुने उल्लेख गरे ।

अध्यक्ष सिलवालले आगामी केही महिनाभित्रै प्रदेश १, गण्डकी र लुम्बिनी प्रदेशमा पनि बिमा समितिका प्रदेश कार्यालयहरु स्थापना गरिने र मंसीरदेखि बिमा सम्बन्धी जनचेतना अभिवृद्धिका कार्यक्रमलाई अभियानका रुपमासंचालन गरिने जानकारी दिए । बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बिमा समितिका काम कारवाहीलाई अझ प्रभावकारी बनाउने क्रममा समितिको नयाँ कर्मचारी दरबन्दी स्वीकृत भएको बताए ।

कार्यक्रममा बिमा समितिका निर्देशक पूजन ढुङ्गेल (अधिकारी), उपनिर्देशक पुनम ज्ञवाली (श्रेष्ठ), उपनिर्देशक एवम् समितिको कर्णाली प्रदेश कार्यालयका प्रमुख पदमप्रसाद सोडारी, सहायक निर्देशक शम्भुप्रसाद मिश्र र सहायक निर्देशक रञ्जिता केसीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सभापतित्व बिमा समिति कर्मचारी युनियनका अध्यक्ष पूर्ण बहादुर थापाले गरेका थिए ।

प्रतिक्रिया