शनिबार, वैशाख ८, २०८१

बुद्धका उपदेश !

नेपालखोज २०७९ असोज १३ गते ५:००

१. कुशीनगरमा साल वृक्षमुनि आफ्ना शिष्यहरूलाई अन्तिम उपदेश दिँदै बुद्धले भने, ‘स्वयम्लाई एक ज्योति बनाऊ । स्वयम्माथि विश्वास गर, अरु कसैमाथि भर नपर । मेरो उपदेशलाई आफ्नो ज्योति बनाऊ । तिनमाथि भर पर, अन्य कुनै उपदेशमाथि भर नपर ।’ आफ्नो शरीरको विचार गर, यसको अपवित्रताको विचार गर, बेदना र आनन्द दुबै दुःखका कारण हुन् भन्ने थाहा पाउँदा पाउँदै तिमी त्यसको तृष्णामा कसरी आशक्त हुन सक्दछौ ? आफ्नो आत्माको विचार गर, यसको अनित्यतामाथि विचार गर, सबैको अन्त्य अवश्यंभावी दुःखमा नै हुन्छ भन्ने थाहा पाउँदा पाउँदै किन यसको मोहमा परि गर्व तथा स्वार्थको उपासना गर्छौ । सबै तत्वहरू माथि विचार गर, के तिमीले तिनीहरूमा कुनै चिरस्थायी ‘आत्मा’ पाउन सक्दछौ ? के ती सबै त्यस्ता स्कन्धहरू होइनन् जो ढिलो अथवा चाँडो टुक्रा टुक्रा भएर छरिन्छन् ? दुःखको सर्वव्यापकताप्रति भ्रममा नपर, मेरो मृत्युपछि पनि मेरा उपदेशहरू पालना गर अनि तिमी दुःखबाट मुक्त हुनेछौँ । यस्तो गर अनि तिमी निश्चय पनि मेरा शिष्य हुनेछौ ।

२. ‘मेरा शिष्यहरू हो ! मैले दिएको उपदेशहरू कहिल्यै बिर्सने अथवा परित्याग गर्ने छैनौ । तिनको सदैव संरक्षण गर्नुपर्छ र तिनको मनन् गरी अभ्यास गरिनुपर्छ । यदि तिमीले यी उपदेशहरू पालना गर्‍याै भने तिमी सदैव सुखी रहने छौ । उपदेशको मुख्य आशय तिम्रो आफ्नै मनमाथि नियन्त्रण पाउनु हो । लोभबाट मुक्त हुन सक्यौ भने तिमीले आफ्नो शरीरलाई सत्मार्गमा, मनलाई निर्मल अनि वचनलाई निष्ठावान राख्न सक्दछौ । जीवनको क्षणभंगुरतालाई सदैव विचारमा राख्यौ भने, तिमी लोभ र रिसको प्रतिरोध गर्न सक्नेछौँ अनि सम्पूर्ण पापहरूका परित्याग गर्न सक्नेछौ । यदि तिमीले आफ्नो मन प्रलोभित भई लोभमा फसेको पायौ भने प्रलोभनको दमन र नियन्त्रण गर्नुपर्छ, आफ्नै मनको स्वामी बन । मानिसको मनले उसलाई बुद्ध बनाउन सक्दछ र यसै मनले उसलाई पशु बनाउन सक्छ । भ्रमले बाटो बिरायौ भने राक्षस बन्न सक्नेछौ, बोधिज्ञान प्राप्त गर्न सक्यौ भने बुद्ध हुन सक्नेछौ । तसर्थ, आफ्नो मनमाथि नियन्त्रण राख अनि कहिल्यै पनि सत्मार्गबाट यसलाई विमखु हुन नदेऊ ।’

प्रतिक्रिया