शुक्रबार, वैशाख ७, २०८१

सोमालियामा अल सेबाबका चालिस आतंककारी मारिए

नेपालखोज २०७९ असोज १४ गते १३:१९

मोगादिसु । सोमालियामा सेनाले गरेको कारबाहीका क्रममा अल सेबाब आतंककारी सङ्गठनका ४० जना आतंककारीको मृत्यु भएको जनाएको छ ।

सोमालियाली सेनाले सो कुराको जानकारी दिएको हो । बिहीबार मध्य क्षेत्रीय हिरान क्षेत्रमा गरेको कारबाहीका क्रममा ती लडाकाहरु मारिएका बताइएको हो ।

सोमाली सेनाका कमाण्डरले सोमालियाली समाचार समितिलाई बिहीबार दिएको जानकारीअनुसार राष्ट्रिय सेनाले मध्य सोमालियाको हिरान सहरमा गरेको कारबाहीका क्रममा ४० जना लडाका मारिएका र अरु केही घाइते भएका जनाएका छन् ।

सो कारबाहीका क्रममा अल सेबाब समूहका एकजना कमाण्डर पनि मारिएका बताइएको छ । त्यसक्रममा अल सेबाब आतंककारी संगठनका कैयौँ हातहतियार पनि कब्जा गरिएको बताइएको छ ।

कारबाहीका क्रममा सेनाका कमाण्डर पनि मारिएका छन् । उनलाई अल सेबाब संगठनका आतङ्ककारीले गोली हानेका थिए । हिरान क्षेत्रमा अल सेबाबका लडाकाहरुले विगत लामो समयदेखि आतङ्क मच्चाइरहेका र सोही सूचनाका आधारमा उनीहरुमाथि सेनाले कारबाही थालेको बताइएको छ ।

प्रतिक्रिया