बिहीबार, वैशाख १३, २०८१

‘देशको परिवर्तनमा सांगीतिक क्षेत्रको महत्त्वपूर्ण योगदान’ : मन्त्री गहतराज

नेपालखोज २०७९ असोज १४ गते १९:२२

काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वरजङ्ग गहतराजले देशको परिवर्तनमा साङ्गीतिक क्षेत्रको महत्वपूर्ण योगदान रहेको बताएका छन् । सङ्गीतकार सङ्घ नेपालले विजया दशमीको उपलक्ष्यमा आज यहाँ आयोजना गरेको ‘श्रष्टा सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रम’ उनले खेलाडी र कलाकारले नै देशलाई चिनाउने भएपनि उनीहरुको उचित सम्मान गर्न नसकिएको बताए ।

सर्जकले सिर्जना गर्ने भएकाले उनीहरुको दक्षता र सोही क्षेत्रको विज्ञताको आधारमा सम्मान हुनुपर्ने मन्त्री गहतराजको भनाइ थियो । कार्यक्रममा मन्त्री गहतराजले वरिष्ठ नृत्य निर्देशक भैरवबहादुर थापा, गीतकार किरण खरेल, गायक भक्तराज आचार्य, लोकगायक कुमार बस्नेत र सङ्गीतकार शम्भुजित बाँस्कोटा, गुरूश्री सङ्गीत सम्मान चन्दन श्रेष्ठ र शिवबहुदर सुनाम स्मृति नाग रत्न सङ्गीत पुरस्कार २०७९ सङ्गीतकार अमुल कार्कीलाई प्रदान गरियो ।

उनीहरुलाई दोसल्ला र रू २५ हजारसहित सम्मान गरिएको हो । सो अवसरमा गीतकार डा. भोला रिजाल, सङ्गीतकार भुपेन्द्र रायमाझी, निर्देशक युवराज लामा, गीतकार प्रमोद ढुङ्गाना, गायक तथा निर्देशक नारायण रायमाझी, देउडा गयाक नन्दकृष्ण जोशी, नृत्य निर्देशक कमल राईलगायत सम्मानित हुनुभयो । कार्यक्रममा सङ्गीतकार बाँस्कोटाले सङ्गीत बोर्डको आवश्यकता औल्याए ।

‘स्रष्टाको सम्मान र अधिकारको लागि यो सङ्घको स्थापना गरिएको हो । चलचित्र विकास बोर्ड झैँ सङ्गीत बोर्ड भएमा हामीले पाउने अधिकारलाई नीतिगतरुपमा अगाडि बढाउन सक्छौं । उनले भने । सङ्घका अध्यक्ष चेतन सापकोटाले गीतकार, गायन समाज, उत्पादक सङ्घ, रोयल्टी सङ्कलन समाजसँग सहकार्य गरेर अगाडि बढ्ने बताए । ‘बौद्धिक सम्पत्तिको मौलिक हक संरक्षण र सम्मानजनक सहभागिताका लागि नीतिगतरुपमै अगाडि बढ्ने छौँ । अब हामी झक्झकाउने गरी आवाज उठाउने छौं’ अध्यक्ष सापकोटाले भने ।

प्रतिक्रिया