शुक्रबार, वैशाख ७, २०८१

बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय उत्तर पश्चिमीतर्फ सर्दै, यस वर्षकाे दसैँमा पानी पर्ने

नेपालखोज २०७९ असोज १५ गते ६:३३

काठमाडाैं । हाल देशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।  अहिले देशको अधिकांश भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको तथा कर्णाली प्रदेशको एक-दुई स्थानमा हल्का वर्षा भइरहेको विभागले जनाएकाे छ ।

आज दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरुमा आंशिक बदली  रहनेछ । प्रदेश १, वाग्मती,  गण्डकी र  लुम्विनी प्रदेशका थोरै र बाँकी प्रदेशका एक-दुई स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएकाे छ ।

आज राति देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरुमा आंशिक बदली  रहनेछ भने देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएकाे छ ।

त्यस्तै, यस वर्ष दसैँको दिन पानी पर्ने र सडक तथा हवाई यातायात सेवा प्रभावित हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । तर, हाल बङ्गालको खाडीमा विकसित भइरहेको न्यून चापीय क्षेत्र उत्तर पश्चिमीतर्फ सर्दै गइरहेकाले नेपालमा अजै मनसुनी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार असोज १८ गते नवमीदेखि नेपालमा पनि न्यून चापीय प्रणालीको प्रभाव पर्ने हुँदा मनसुनी वर्षा सक्रिय हुने सम्भावना छ । त्यसदिन  प्रदेश १, मधेस, वाग्मती र गण्डकी प्रदेशहरूका केही र बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

असोज १९ गने टीकाको दिन देशभर सामान्य देखि पूर्णतया बदली रही देशका धेरै स्थानहरूमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनुको साथै गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशहरूका थोरै स्थानहरूमा भारीदेखि अति भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखााका अनुसार असोज २० गते बिहीबार एकादशीको दिनमा देशभर सामान्यदेखि पूर्णतया बदली रही सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशहरूका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशहरूका केही स्थानहरूमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने छ । साथै सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशहरूका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

 

प्रतिक्रिया