डा. भट्टराई प्रतिनिधिसभा चुनाव नलड्ने, भन्छन्- चुनाव नलड्नु भनेको राजनीति छोड्नु हैन !

नेपालखोज २०७९ असोज १७ गते १४:३३

काठमाडाैं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आशन्न निर्वाचनमा चुनाव नलड्ने बताएका छन् । उनले सामाजिक सञ्जालमा एक पाेस्ट लेख्दै आशन्न निर्वाचनमा चुनाव नलड्ने बताएका हुन् । उनले आफ्नो ठाउँले सक्षम र जिम्मेवार व्यक्तिको नेतृत्व पाउने अपेक्षा गरेकाे पनि बताएका छन् ।

उनी लेख्छन् ‘आगामी २०७९ मंसीर ४ को प्रतिनिधिसभा निर्वाचनमा म उम्मेदवार नबन्ने यहाँहरू सबैलाई विनम्र जानकारी गराउन चाहन्छु ।’ यसअघि डा. भट्टराईले आगामी प्रतिनिधि सभा निर्वाचन माओवादी केन्द्रको चुनाव चिह्नबाट लड्ने निर्णय गरेका थिए ।

सही र असल राजनीति भनेको समाजको सर्वतोमुखी अग्रगामी रूपान्तरण र जनता तथा समाजको सेवा गर्ने साधन रहेको पनि उनले बताएका छन् । ‘म त्यसमा विश्वास गर्छु र आजीवन त्यही मार्गमा लागिरहनेछु । पार्टीको काम र जनसेवामा म निरन्तर खटिरहनेछु ।’

उनले लेखेका छन्, ‘चुनाव नलड्नु भनेको राजनीति छोड्नु हैन !’ चुनाव नलडेपछि आफू पार्टीको काम र जनताको सेवामा निरन्तर लागिरहने उनले लेखेका छन् । ‘चुनाव नलड्नु भनेको राजनीति छोड्नु हैन ! कतिपय मानिसहरूले जानेर नजानेर त्यस्तो सोच्न/भन्न सक्छन् । सत्तादेखि सत्ता र चुनावदेखि चुनावसम्मको राजनीति गर्नेहरूले त्यसो भन्नु अन्यथा हैन,’ उनले लेखेका छन् ।

प्रतिक्रिया