बिहीबार, चैत १५, २०८०

अविरल वर्षाका कारण धेरै स्थानकाे विद्युतीय संरचनामा क्षति

नेपालखोज २०७९ असोज २१ गते १८:३८

काठमाडौं । अविरल वर्षा, हावाहुरी, बाढीपहिरो र चट्याङका कारण देशका विभिन्न स्थानमा विद्युतीय संरचनामा ठूलो क्षति पुगेको छ ।

विद्युतीय संरचनामा क्षति पुग्दा विभिन्न ठाउँको विद्युत आपूर्ति समेत अवरुद्ध भएको छ । लुम्बिनी प्रदेशअन्तर्गतका रुपन्देही, अर्घाखाँची, पाल्पा, दाङ लगायतका जिल्लामा विद्युत प्रसारण लाइन, वितरण लाइनतर्फका पोल, ट्रान्सफर्मरलगायतका संरचनामा क्षति पुगेको छ भने दाङको लमही–घोराही १३२ केभी प्रसारण लाइन अन्तर्गत बेलडाँगी भन्ने स्थानमा पहिरोले टावर ढालेको आशंका गरिएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले १३२ केभी प्रसारण लाइनको टावर ढलेको खबर आएको तर पहिरोका कारण उक्त स्थानमा पुग्न नसकिएकोले यकिन हुन नसकिरहेको बताए । प्रसारण लाइनमा क्षति पुगेपछि त्यस क्षेत्रको विद्युत आपूर्ति अवरोध भएको र अहिले वैकल्पिक व्यवस्था गरी घरायसी ग्राहकलाई विद्युत दिइएको कार्यकारी निर्देशक घिसिङले बताए ।

प्राधिकरणले हापुरे सबस्टेसनबाट ३३ केभी प्रसारण लाइनबाट लमही, घोराहीलगायतका क्षेत्रका घरायसी ग्राहकलाई विद्युत आपूर्ति दिएको छ । त्यस क्षेत्रमा धेरै विद्युत खपत गर्ने सिमेन्ट उद्योगहरु सञ्चालित छन् ।

प्राधिकरणले लमही–घोराही १३२ केभी प्रसारण लाइनको टावर नै ढलेको अवस्थामा आपत्कालीन पुनस्र्थापना प्रणाली (इआरएस) अन्तर्गत रहेको टावर जडान गरी विद्युत आपूर्तिको योजना बनाएको घिसिङले उल्लेख गरे ।
‘वर्षाले प्रसारण तथा वितरण प्रणालीमा क्षति पुर्याएको छ, चाडपर्वको वेला पनि हाम्रा कर्मचारीहरुलाई काममा खटाएर तत्काल मर्मतसम्भार तथा वैकल्पिक व्यवस्था गरी ग्राहकलाई विद्युत आपूर्ति दिइरहेका छौं,घिसिङले भने ।

प्रतिक्रिया